मदन भण्डारी कलेजले भोलिदेखि ३ दिने MBMC IdeaX-2025 आयोजना गर्दै
३ पुस २०८०, काठमाडौं ।
काठमाडौंको नयाँ बानेश्वर स्थित मदन भण्डारी मेमोरियल कलेजले ४८ घण्टे ‘MBMC IdeaX–2082’ Hackathon को तेस्रो संस्करण यही मिति २०८२ पौष ४ देखि ६ गतेसम्म सञ्चालन गर्ने भएको छ ।
MBMC IdeaX कार्यक्रममार्फत विज्ञान तथा प्रविधिका माध्यमबाट देशका समसायिक समस्या र अवसरसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रही नवीनतन सोचको खोज गरी समस्या समाधानमा आधारित रही उद्यमशीलता विकास र प्रवर्धन गर्दै आएको छ ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त यस कलेजले विश्वविद्यालय अनुदान अयोगबाट गुणस्तर उन्नयन तथा प्रत्यायनकृत भएको छ । साथै एसियन ओसिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनबाट आउटस्ट्यान्डिङ डिजिटल ट्रान्सफर्मेसन अर्गनाइजेसन अवार्ड–२०८२ बाट पुरस्कृत समेत भएको छ ।
कलेजले स्नातक तहदेखि स्नातकोत्तर तहसम्म विभिन्न सङ्कायका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
प्रतिस्पर्धाको पहिलो संस्करण २०८० असोज १९ देखि २१ गते सम्पन्न भएको थियो । उक्त संस्करणले आदिवासी भाषाहरूको संरक्षण, प्रवर्धन र पुनरुत्थान गर्ने लक्ष्य राखिएको थियो ।
‘भाषा जीवन हो, जीवन नै भाषा हो’ भन्ने मूल नाराका साथ UNESCO नेपालसँगको सहकार्यमा देशभरिबाट ५० भन्दा बढी प्रतिस्पर्धीहरूको सहभागितामा ४८ घण्टाको अनसाइट Hackathon सम्पन्न गरिएको थियो ।
त्यसैगरी दोस्रो संस्करण २०८१ असोज ११ देखि १३ गतेसम्म सञ्चालन भएको थियो । दोस्रो संस्करणको प्रतिस्पर्धामा नेपाल तथा भारतका १ सयभन्दा बढी सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरूले वातावरण प्रविधि, स्वास्थ्य र पहुँच, विकेन्द्रीकरण, साइबर सुरक्षा, पर्यटन, वित्तीय प्रविधि, कृषि प्रविधि लगायतका विधामा खोज तथा अन्वेषण गरी आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रतिस्पर्धामा ६ ओटा विभिन्न विधामा आधारित रही विषयविज्ञहरूबाट प्रत्येक विधाको उत्कृष्ट र समग्रमा एक सर्वोत्कृष्ट बिजेता चयन गरिएको थियो ।
तेस्रो संस्करण MBMC IdeaX-2025 मा स्नातक तहका सूचना तथा प्रविधि विषय अध्ययनरत विद्यार्थीहरू र प्रविधिमा रुचि राख्ने नवप्रवर्तकहरूलाई नेपालको वर्तमान आवश्यकता र सम्भावनासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेका विषयवस्तुहरू पर्यटन, स्वास्थ्य सेवा र पहुँच, वित्तीय प्रविधि, कृषि प्रविधि, सांस्कृतिक पहिचान तथा खुला विषयवस्तुहरूमा केन्द्रित रही प्रतिस्पर्धीहरूलाई एउटै मञ्चमा ल्याई प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगितात्मक तथा सहकार्यात्मक रूपमा सञ्चालन हुने यस कार्यक्रममार्फत सहभागीहरूले आफ्ना नवीन सोचको प्रोटोटाइप विकास गर्ने, कार्यान्वयन गर्ने र विज्ञहरूबाट मार्गदर्शन प्राप्त गर्ने सुनौलो अवसर प्राप्त गर्नेछन् ।
यस वर्षको Hackathon मा प्रारम्भिक रूपमा १३८ समूहहरू दर्ता भएका थिए भने सहभागी समूहहरूलाई अनलाइन प्रस्तुतिका माध्यमबाट ३२ ओटा अन्तिम समूहहरू छनोट गरिएको छ । कुल ४२३ व्यक्तिगत दर्ता मध्ये ११८ व्यक्तिहरू कार्यक्रममा सहभागी हुने भएका छन् ।
कार्यक्रम औपचारिक रूपमा मिति २०८२ पौष ४ गते बिहान १०:३० बजे सुरु हुनेछ । कार्यक्रमको उद्घाटन कलेज व्यवस्थापन समितिका अध्यक्ष श्री महेन्द्र बहादुर पाण्डेज्यूबाट हुनेछ ।
उक्त कार्यक्रमको सभापतित्व कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीज्यूले गर्नुहुनेछ ।
MBMC IdeaX–2082 ले नवप्रवर्तनशील सोचलाई प्रोत्साहन गर्दै समसामयिक समस्या समाधानमा आधारित रही उद्यमशीलता विकास, प्रविधिको सदुपयोग तथा दिगो विकासका लक्ष्यतर्फ योगदान पुरयाउने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रमबाट उत्कृष्ट आइडियाहरूलाई पुरस्कार, मेंटरशिप तथा नेटवर्किङको अवसर प्रदान गरिनेछ।
For more: MBMC IdeaX–2082



