माछापुच्छ्रे बैंक र स्मार्ट पे (साइप्रस) बीच रेमिट्यान्स सम्झौता: अब युरोपबाट पैसा पठाउन अझ सहज
१५ पुस २०८२, काठमाडौं ।
विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सुरक्षित, सरल र प्रभावकारी बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेड र साइप्रसस्थित स्मार्ट पे सर्भिसेज (Smart Pay Services) बीच औपचारिक रेमिट्यान्स सम्झौता भएको छ ।
यो नयाँ सहकार्यले विशेषगरी साइप्रस, ग्रीस, पोर्चुगल लगायत सम्पूर्ण युरोपेली मुलुकमा रहेका नेपालीहरुलाई झन्झटमुक्त ढंगले स्वदेशमा पैसा पठाउने बाटो खुल्ला गरेको छ ।
यस सम्झौतामा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल र स्मार्ट पे की मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस ले हस्ताक्षर गर्नुभएको हो ।
यस सम्झौतासँगै युरोपमा रहेका नेपालीहरुले स्मार्ट पे को भौतिक प्रतिनिधि कार्यालयहरु मात्र नभई मोबाइल एप र अनलाइन पोर्टल जस्ता आधुनिक डिजिटल माध्यमबाट पनि MBL REMIT प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।
युरोपका विभिन्न देशबाट पठाइएको यो रकम नेपालभर छरिएका माछापुच्छ्रे बैंकका १६५ वटा शाखा, ११ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखारहित बैंकिङ्ग सेवा र २० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरु मार्फत सजिलै भुक्तानी लिन सकिने व्यवस्था मिलाइएको छ ।
प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको माछापुच्छ्रे बैंकले यस सेवामार्फत बैंक खातामा रकम जम्मा गर्ने प्रक्रियालाई पनि थप द्रुत बनाएको छ । स्मार्ट पे मार्फत पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंकको खातामा तुरुन्त (Real-Time) जम्मा हुनेछ ।
यसले गर्दा विदेशमा रहेका नेपालीहरुले आफ्ना परिवारलाई आपतकालीन अवस्थामा पनि केही मिनेटभित्रै पैसा पुर्याउन सक्ने सुनिश्चितता प्रदान गरेको छ ।
स्थापना कालदेखि नै अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले हाल १८ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि तराईसम्म फैलिएको आफ्नो बलियो सञ्जाल र १९९ वटा एटीएमहरु मार्फत बैंकले ग्राहकको मन जित्न सफल भएको छ ।
स्मार्ट पे सँगको यो पछिल्लो साझेदारीले नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा रहेको रेमिट्यान्स आप्रवाहलाई थप मजबुत बनाउने र डिजिटल रेमिट्यान्सको प्रयोगलाई बढावा दिने विश्वास लिइएको छ ।
For more: MBL Partners Smart Pay Services



