स्वास्थ्य र शिक्षामा ऐतिहासिक योगदान: लहान नगरपालिकाद्वारा शारडा परिवार सम्मानित
६ माघ २०८२, काठमाडौं ।
सार्वजनिक स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत लहान नगरपालिकाले आयोजना गरेको १७औँ नगरसभाका अवसरमा शारडा तथा मुरारका परिवारलाई सम्मान प्रकट गरेको प्रति शारडा ग्रुप परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।
रामकुमार शारडा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल स्थापनाका लागि ऐतिहासिक रूपमा जग्गा दान गरेको योगदानको कदरस्वरूप शारडा ग्रुपका निर्देशक पवन शारडासहित दाता परिवारका अन्य सदस्यहरूलाई लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले दोसल्ला, खादा तथा सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले गरिब, विपन्न तथा सीमान्तकृत नागरिकहरूले आफ्नै स्थानमा सुलभ स्वास्थ्य सेवा प्राप्त गरून् भन्ने उद्देश्यले करोडौँ मूल्यको जग्गा दान गर्नु असाधारण उदारता र उच्च सामाजिक उत्तरदायित्वको उदाहरण भएको उल्लेख गरे ।
स्वर्गीय रामकुमार शारडा र उमाप्रसाद मुरारकाको स्मृतिमा वि.सं. २०३५ मा १ बिघा १५ कठ्ठा १० धुर क्षेत्रफलको जग्गा अस्पताल निर्माणका लागि दान गरिएको थियो ।
उक्त अस्पताल भवन वि.सं. २०३९ मा उद्घाटन गरिएको हो । करिब ४७ वर्षपछि, पूँजीगत लाभकर छुटसम्बन्धी मन्त्रिपरिषद्को निर्णयपछि उक्त जग्गा औपचारिक रूपमा अस्पतालको स्वामित्वमा आएको छ ।
करिब रु. १७ करोड ९९ लाख मूल्याङ्कन गरिएको उक्त जग्गा मधेश प्रदेश सरकारको नाममा हस्तान्तरण भएसँगै सार्वजनिक स्वास्थ्य सेवाका लागि स्थायी संस्थागत स्वामित्व सुनिश्चित भएको छ ।
उक्त सम्मान कार्यक्रममा शारडा ग्रुपको तर्फबाट बोल्दै निर्देशक पवन शारडाले भने–”यो सम्मान हाम्रो परिवारको मात्र होइन, सम्पूर्ण लहानवासीको सम्मान हो । हाम्रा अग्रजहरूले समाजको सेवाबाट मिल्ने सन्तुष्टिलाई नै वास्तविक सम्पत्ति मान्नुभएको थियो । अग्रजहरूको यसै भावलाई आत्मसात् गर्दै स्वास्थ्य र शिक्षामार्फत पुस्तौँसम्म सेवा पुर्याउन पाउँदा हाम्रो सम्पूर्ण परिवार हार्दिक आभारी र कृतज्ञ छौँ ।”
शारडा ग्रुपले आफ्ना संस्थापकहरूको मूल्य, दर्शन र विरासतलाई आत्मसात् गर्दै उत्तरदायी व्यवसाय, सामाजिक दायित्व र दिगो विकासमार्फत राष्ट्र निर्माणमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता पुनः व्यक्त गर्दछ ।
For More:-Sharda Family Honored Lahan



