चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षाबारे मन्त्री घिसिङको निर्देशन
४ असोज, काठमाडौं।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरेका छन्।
शनिबार मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारी सहभागी थिए।
छलफलपछि मन्त्री घिसिङले यात्रुहरुलाई २४ सै घण्टा सडक अवस्था र गुनासो सुन्न सक्ने सुविधा उपलब्ध गराउने, सडकमा पहिरो वा अन्य अवरोध भए तत्कालै पुनर्स्थापना (Rapid Restoration) गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
बैठकका प्रमुख निर्णयहरू
-
नागढुंगा-सिस्नेरी सुरुङमार्ग: दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई सुरुङमार्ग प्रयोग गराउने व्यवस्था गर्न छलफल गर्ने।
-
सुरक्षा व्यवस्थापन: नयाँ बसपार्क र विभिन्न राजमार्गमा प्रहरी गस्ती बढाउने र प्रहरी संख्या थप गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने।
-
मालबाहक ठूला सवारी: दशैं अवधिभर बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा १२ चक्के तथा सोभन्दा ठूला भारबाहक सवारी सञ्चालन नगर्न आग्रह गर्ने। तर, खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई निरन्तर सञ्चालन हुने व्यवस्था गर्ने।
Advertisement
-
सडक स्तरोन्नति: मुख्य सडक चुस्त राख्न, पहिरो व्यवस्थापनका लागि आवश्यक सामग्री/यन्त्र उपलब्ध गराउन, बुटवल–नारायणघाट खण्डमा २४ घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणघाट–मुग्लिन सडक खण्डको तुइन खोला पहिरो हटाई तत्काल सञ्चालनमा ल्याउन, र तातोपानी नाका जोड्ने सडक दशैं अघि सञ्चालनमा ल्याउन निर्देशन दिने।
-
सार्वजनिक सूचना: नागरिकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्ने।
-
कार्यविधि र निर्देशिका: सार्वजनिक सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी शीघ्र पेश गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने।
-
कन्ट्रोल रुम: मुलुकभरका सडकको अवस्था र सुरक्षा व्यवस्थित गर्न २४ घण्टा सञ्चालन हुने कन्ट्रोल रुम स्थापनाको तयारी गर्न निर्देशन दिने।
छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर र वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले रातको समयमा चल्ने बसलाई दिउँसो सञ्चालन गर्न माग गरेका थिए। उनीहरुले पहिरो र बाढीका कारण राति यात्रा जोखिमपूर्ण हुने बताए।
For More:-Kulman Ghising Festive Traffic Plan

