चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षाबारे मन्त्री घिसिङको निर्देशन
४ असोज, काठमाडौं।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरेका छन्।
शनिबार मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारी सहभागी थिए।
छलफलपछि मन्त्री घिसिङले यात्रुहरुलाई २४ सै घण्टा सडक अवस्था र गुनासो सुन्न सक्ने सुविधा उपलब्ध गराउने, सडकमा पहिरो वा अन्य अवरोध भए तत्कालै पुनर्स्थापना (Rapid Restoration) गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
बैठकका प्रमुख निर्णयहरू
-
नागढुंगा-सिस्नेरी सुरुङमार्ग: दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई सुरुङमार्ग प्रयोग गराउने व्यवस्था गर्न छलफल गर्ने।
-
सुरक्षा व्यवस्थापन: नयाँ बसपार्क र विभिन्न राजमार्गमा प्रहरी गस्ती बढाउने र प्रहरी संख्या थप गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने।
-
मालबाहक ठूला सवारी: दशैं अवधिभर बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा १२ चक्के तथा सोभन्दा ठूला भारबाहक सवारी सञ्चालन नगर्न आग्रह गर्ने। तर, खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई निरन्तर सञ्चालन हुने व्यवस्था गर्ने।
-
सडक स्तरोन्नति: मुख्य सडक चुस्त राख्न, पहिरो व्यवस्थापनका लागि आवश्यक सामग्री/यन्त्र उपलब्ध गराउन, बुटवल–नारायणघाट खण्डमा २४ घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणघाट–मुग्लिन सडक खण्डको तुइन खोला पहिरो हटाई तत्काल सञ्चालनमा ल्याउन, र तातोपानी नाका जोड्ने सडक दशैं अघि सञ्चालनमा ल्याउन निर्देशन दिने।
-
सार्वजनिक सूचना: नागरिकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्ने।
-
कार्यविधि र निर्देशिका: सार्वजनिक सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी शीघ्र पेश गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने।
-
कन्ट्रोल रुम: मुलुकभरका सडकको अवस्था र सुरक्षा व्यवस्थित गर्न २४ घण्टा सञ्चालन हुने कन्ट्रोल रुम स्थापनाको तयारी गर्न निर्देशन दिने।
छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर र वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले रातको समयमा चल्ने बसलाई दिउँसो सञ्चालन गर्न माग गरेका थिए। उनीहरुले पहिरो र बाढीका कारण राति यात्रा जोखिमपूर्ण हुने बताए।
For More:-Kulman Ghising Festive Traffic Plan