कामना सेवा विकास बैंकद्वारा एमफिल र स्नातकोत्तर विद्यार्थीलाई रिसर्च ग्रान्ट प्रदान
३० पुष २०८२, काठमाडौं ।
कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययरत सोधकर्ता विद्यार्थीहरुलाई अनुसन्धान अनुदान (Research Grant) प्रदान गर्ने भएको छ ।
अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थीहरु र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा सुचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीहरुलाई सोध कार्य गर्नका लागि अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ ।
बैंकिङ र अर्थतन्त्रसँग सम्वन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यको लागि एफफिल गर्दै गरेका दुई जना सोधकर्ता विद्यार्थीहरुलाई जनही १ लाखका दरले र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा सुचना प्रविधिमा स्नातकोत्तर गदै गरेका ४ जना सोधकर्ता विद्यार्थीहरुलाई बैंकिङ, अर्थतन्त्र र सुचना तथा प्रविधिसँग सम्वन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यको लागि जनही ५० हजारका दरले अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ ।
उक्त अनुदान प्राप्त गर्नको लागि सम्वन्धित कलेजको सिफारिस सहित १४ मार्च २०२६ भित्र बैंक समक्ष प्रस्तावना पेश गर्नुपर्नेछ । सम्वन्धित विषयका विज्ञ समेत रहेको छनौट समितिले उक्त अनुदान प्राप्त गर्ने विद्यार्थीहरुको छनौट गर्नेछ ।
विद्यार्थीहरुले गर्ने सोध कार्यहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय दृष्टीकोणले भरपर्दो र प्रमाणित गर्न सकिने तथ्याङ्कमा आधारित र मौलिक हुनुपर्ने बैंकले जनाएको छ ।
बैंकले प्रदान गर्ने उक्त अनुदानले एमफिल र स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीहरुलाई सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जनाउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले विश्वविद्यालय तथा कलेजमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने शोध, अनुसन्धान कार्य गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकवाट Fellowship/Research Grant प्रदान गर्न सक्ने व्यवस्था गरेसँगै कामना सेवा विकास बैंकले अनुसन्धान अनुदान उपलव्ध गराउने भएको हो ।
नेपाल राष्ट्र बैंकको व्यवस्था वमोजिम अनुसन्धान अनुदान प्रदान गर्ने कामना सेवा विकास बैंक पहिलो वित्तीय संस्था हो ।
उक्त अनुसन्धान अनुदान सम्वन्धि विस्तृत विवरण बैंकको वेभसाइट www.kamanasewabank.com वाट प्राप्त गर्न सकिनेछ ।
For more: KSBBL Research Grant 2026



