स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्न प्रसूति गृह र काठमाडौं महानगरबीच सम्झौता
६ चैत, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबीच स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्न अनुदानसम्बन्धी सम्झौता भएको छ।
बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा भएको उक्त सम्झौतामा महानगरको स्वास्थ्य विभाग प्रमुख दिपककुमार के.सी. र अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार प्रसूति तथा स्त्रीरोग अस्पतालले महानगरअन्तर्गतका स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूबाट निस्कने स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्नेछ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार उक्त प्लान्ट निर्माणका लागि महानगरले दुई करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँमा जग्गाको अभावका कारण स्वास्थ्यजन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै उपलब्ध स्थानमा मापदण्डअनुसारका प्लान्ट सञ्चालन गरी समस्याको निकास दिनुपर्नेमा जोड दिइन्।
उनले प्रसूति गृहलाई यस प्लान्ट निर्माणको कार्य तत्काल थालनी गरेर समयमै फोहोर व्यवस्थापनको कार्य शुरु गर्न समेत अनुरोध गरिन्।
यस सम्झौताले प्रसूति गृह र महानगर दुवैलाई फाइदा पुग्ने उनको विश्वास छ।
For more: KMC Partners Paropakar Maternity Hospital


