२७ साउन, काठमाडौं।
हालसालै किसान बचत तथा ऋण सहकारी संस्था (किसान साकोस) ले आफ्नो किसान स्मार्ट एप मार्फत डिजिटल व्यवसाय प्रवर्द्धन सेवा (BDS) सुरु गरेको छ। नेपालका सहकारीहरूमा यो सेवाको प्रयोग पहिलो पटक भएको हो।
यस सेवाले किसान साकोसका सदस्यहरूलाई आफ्नो उत्पादन, सीप र सपना प्रविधिको सहायताले बजारमा पुर्याउने बाटो खोलेको छ।
किसान साकोसको ३१ वर्षअघि २५ जना सदस्यबाट सुरु भएको यात्रा आज लाखौँको साझा अभियान बनेको छ। सुरुमा गाउँघरका किसान, साना व्यवसायी र गृहिणीहरूले स्थापना गरेको यो संस्था अहिले देशकै उदाहरणीय सहकारीमध्ये एक बनेको छ।
२५ वटा सहकारीलाई समेट्दै सेवा दिइरहेको किसान साकोसमा हाल करिब १ लाख सदस्य आबद्ध छन् भने यसको कुल पूँजी ४ अर्ब रुपैयाँ रहेको छ। एसिया प्रशान्त क्षेत्रको गुणस्तर प्रमाणीकरण संस्था एक्सेस ब्राण्डबाट किसान साकोसले पाँच पटकसम्म प्रमाणिकरण प्राप्त गरिसकेको छ।
संस्थाको यस नयाँ पहल, डिजिटल BDS, मार्फत सदस्यहरूले आफ्नो उत्पादन—जस्तै अचार, कपडा, दही, घ्यू वा हस्तकलाका सामान—सोझै मोबाइल एपमा दर्ता गर्न सक्छन्। एपको ‘लोकल प्रडक्ट’ खण्डमा सदस्यले आफ्नो उत्पादनको नाम, तस्बिर, मूल्य र सम्पर्क विवरण राख्न सक्नेछन्।
यसबाट अन्य सदस्य वा ग्राहकले उत्पादकसँग सिधा सम्पर्क स्थापित गर्न सक्नेछन्। सदस्यहरूका उत्पादनहरू किसान साकोसको वेबसाइट KISAN.ORG.NP मा पनि हेर्न सकिनेछ।
यो सेवा केवल वस्तु बेच्ने माध्यम मात्र नभई, सदस्यहरू, विशेषगरी २५,००० महिला सदस्यहरू र उनीहरूका परिवारको लागि आत्मनिर्भरता र आर्थिक सबलीकरणको महत्वपूर्ण प्लेटफर्म बन्ने विश्वास गरिएको छ, जसले घरमै उत्पादन गरेर पनि बजारसम्म पहुँच पुर्याउन सकेका थिएनन्।
अब उनीहरूले बजार आफ्नै मोबाइलमा बोलाउन सक्नेछन्।
For more: Kisan Saccos BDS app