अर्थमन्त्री खनालको घोषणा, निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं, टुक्रे आयोजना कार्यान्वयन नगर्ने

Minister Khanal Private Sector Morale
Share It On:

३० भदौ, काठमाडौं।

नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गर्दै आर्थिक शुचिता र निजी क्षेत्रको मनोबल कायम राख्ने घोषणा गरेका छन्।

सोमबार मन्त्रालयमा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गरेर करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताए।

अर्थमन्त्री खनालले बजेटका कार्यक्रम फिल्टर गर्न बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका छन्। उक्त कार्यदलले बजेटमा परेका आयोजनालाई प्राथमिकिकरण गर्नेछ।

खनालले जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मन्त्रालयको भग्नावशेष छिट्टै हटाई पुनःनिर्माण गर्ने निर्देशन दिएका छन्। उनले भने, “यो कामचलाउ सरकार हो, नयाँ सवारी साधन खरिद नगरौँ, कवाडी बेचौँ, पुनःनिर्माण तत्काल सुरु गरी हामी उठेका छौँ भन्ने सन्देश दिन जरुरी छ।”

अर्थमन्त्री खनालले स्वकीय सचिवालय नराख्ने, व्यक्तिगत प्रयोजनका लागि सरकारी सम्पत्ति प्रयोग नगर्ने, चालकबाहेक अन्य सुविधा नलिने स्पष्ट घोषणा गरे। सोमबार उनले आफैं गाडी चलाएर शपथ लिन गएको अनुभव पनि सुनाए। उनले भने, “मलाई एउटा ड्राइभर र सचिवालय व्यवस्थापन गर्न एकजना कर्मचारी भए पुग्छ।”

खनालले निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक सुधार अघि बढाइने बताए। “निजी क्षेत्र खुसी भए राजस्व आफैं बढ्छ,” भन्दै उनले कर संकलन र आर्थिक गतिविधि सुचारु राख्न निजी क्षेत्रसँग निरन्तर संवाद गर्ने आश्वासन दिए।

युवाहरूको बलिदानले मुलुकको प्रमुख समस्यालाई अन्त्य गरेको भन्दै उनले आफूलाई दिइएको जिम्मेवारी गल्ती नगरी पुरा गर्ने प्रतिबद्धता जनाए। साथै, कर्मचारीहरूलाई व्यक्तिगत काममा नभुलाउन अनुरोध गर्दै उनले भने मेरो घर नचिनेकै राम्रो, तर कार्यालयका काममा जुनसुकै बेला सहजकर्ता बन्छु।

उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्षका रूपमा प्रस्तुत गरेको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याइने पनि उल्लेख गरे।

For More:-Minister Khanal Private Sector Morale


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *