कान्तिपुर सिटी कलेजमा ‘KCC Exhibit 2082’ सुरु, प्रविधि र नवप्रवर्तनको भव्य प्रदर्शन

KCC Tech Exhibit 2082
Share It On:

१६ साउन, काठमाडौं। 

पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले आजदेखि आफ्नो प्रतिष्ठित कार्यक्रम ‘KCC Exhibit 2082’ को आयोजना सुरु गरेको छ। “Innovate, Exhibit, Inspire” (नवाचार गरौं, प्रदर्शन गरौं, प्रेरित गरौं) भन्ने मूल नाराका साथ सुरु भएको यो दुईदिने प्रदर्शनी साउन १७ गतेसम्म कलेज परिसर, पुतलीसडक, काठमाडौंमा चल्नेछ।

प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीहरूमा रहेको सिर्जनात्मकता र व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योग क्षेत्र बीचको सहकार्यलाई थप सशक्त बनाउनु रहेको कलेजले जनाएको छ।

प्रदर्शनीमा के-के छन्?

यस प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी-नेतृत्वमा आधारित परियोजनाहरू प्रदर्शनमा राखिएका छन्। यसमा कृत्रिम बुद्धिमत्ता (AI), इन्टरनेट अफ थिङ्स (IoT), सफ्टवेयर एप्लिकेसनहरू, वेब/मोबाइल एप्स, शैक्षिक प्लेटफर्म, सिभिल इञ्जिनियरिङ मोडलहरू, ट्राफिक व्यवस्थापन र भूकम्प प्रतिरोधी संरचनाहरू लगायतका अत्याधुनिक प्रविधि तथा परियोजनाहरू समावेश छन्।

प्रविधि प्रदर्शनीका साथै, बी.बी.ए. (BBA) का विद्यार्थीहरूद्वारा सञ्चालन गरिने ५ भन्दा बढी खाना स्टलहरूमार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिएका छन्, जसले विद्यार्थीहरूमा उद्यमशीलताको भावनालाई पनि प्रोत्साहन गरेको छ।

सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू

प्रदर्शनीमा प्रविधि मात्र नभई सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरूले पनि थप रौनकता थपेका छन्। यसमा चर्चित गायिका एञ्जिला रेग्मीको लाइभ कन्सर्ट, लोकप्रिय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को प्रस्तुति, तथा कलेजका विद्यार्थीहरूद्वारा प्रस्तुत लाइभ म्युजिक लगायतका कार्यक्रमहरू समावेश छन्।

उद्घाटन समारोह र विशिष्ट अतिथिहरू

आज बिहान ९:०० बजे कलेज परिसरमा एक भव्य समारोहका बीच KCC Exhibit 2082 को उद्घाटन गरियो। कार्यक्रमको अध्यक्षता कान्तिपुर सिटी कलेजका अध्यक्ष  सुमन कटवालले गर्नुहुनेछ। सूचना तथा सञ्चार प्रविधि माननीय मन्त्री  पृथ्वी सुब्बा गुरुङले प्रमुख अतिथिका रूपमा कार्यक्रमको उद्घाटन गर्नुहुनेछ।

उद्घाटनपश्चात् विशिष्ट अतिथिहरूले प्रदर्शनी क्षेत्रको अवलोकन गर्नुका साथै विद्यार्थीहरूसँग उनीहरूका परियोजना र नवप्रवर्तनका बारेमा अन्तर्क्रिया गर्नुहुनेछ।

१०,००० भन्दा बढी अवलोकनकर्ता अपेक्षित

कलेजले यस दुईदिने प्रदर्शनीमा विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विशेषज्ञ, सञ्चारकर्मी र सर्वसाधारण गरी १०,००० भन्दा बढी अवलोकनकर्ताहरूको सहभागिता रहने अपेक्षा गरेको छ। यो प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च प्रदान गर्नुका साथै शैक्षिक क्षेत्रमा नवप्रवर्तन र उद्यमशीलताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास कलेजले लिएको छ।

प्रदर्शनी अवलोकनका लागि प्रवेश निःशुल्क रहेको छ।

कान्तिपुर सिटी कलेज परिवारले सम्पूर्ण सञ्चारकर्मी, प्रविधि प्रेमी तथा आम जनसमुदायलाई KCC Exhibit 2082 मा सहभागिता जनाई नेपालको नवप्रवर्तन र प्रतिभाको यो उत्सवलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

For more: KCC Exhibit 2082


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *