काठमाडौं नेशनल मेडिकल कलेज र आइजिआई प्रुडेन्सियलबीच सम्झौता
२१ असोज २०८२, काठमाडौं ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल (एसबी हेल्थ केयर प्रा.लि.) बीच नगदरहित (क्यासलेस) स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) शरण रेग्मी र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (CEO) जहान्गिर अन्सारीले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार, अब आइजीआई प्रुडेन्सियलका बीमित ग्राहकहरूले उक्त अस्पतालमा उपचार गर्दा नगद तिर्नु नपर्ने व्यवस्था हुनेछ। बीमालेखमा निर्दिष्ट रकमसम्मको उपचार खर्च बीमा कम्पनीले सिधै अस्पताललाई भुक्तानी गर्ने छ। यस प्रणालीले आकस्मिक अवस्थाहरूमा बीमितलाई सहज र द्रुत उपचार सेवा प्राप्त गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले देशभरका विभिन्न अस्पतालहरूसँग यस किसिमका सम्झौताहरू गर्दै आएको छ, जसको उद्देश्य बीमितहरूलाई विश्वसनीय, सहज र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ।
उक्त अवसरमा नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले भने, “हामी बीमित ग्राहकहरूलाई अस्पतालमा नगद बिना उपचार सेवा उपलब्ध गराउने दिशामा निरन्तर अग्रसर छौं। बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाईजेसन सुविधाले बीमितहरूलाई थप सहजता दिलाउनेछ।”
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत जहान्गिर अन्सारीले भने, “हाम्रो अस्पतालमा उपचार सेवा लिने ग्राहकहरूको सन्तुष्टि बढ्दै गएको छ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यले सेवा झन् छरितो र भरपर्दो बन्नेछ।”
यस सम्झौतासँगै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गरेका ग्राहकहरूले अब काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल (एसबी हेल्थ केयर) मा क्यासलेस हस्पिटलाईजेसन सुविधा प्राप्त गर्न सक्नेछन्।
For More:-IGI Prudential Cashless Service