काठमाडौँ महानगरका सामुदायिक विद्यालय प्रविधिमैत्री: स्मार्ट बोर्ड अब सबै कक्षामा
काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री (डिजिटल) बनाउँदै लगिएको छ । महानगरले अब आफ्ना सामुदायिक विद्यालयका लगभग सबै कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्ने तयारी गरेको छ ।
यससँगै सामुदायिक विद्यालयका विद्यार्थीहरूले डिजिटल स्मार्ट बोर्डमार्फत आधुनिक तरिकाले पढ्ने अवसर पाउने छन् भने शिक्षकहरूले पनि डिजिटल प्रविधिको प्रयोग गर्दै अध्यापन गर्न सक्ने वातावरण तयार हुँदै छ ।
डिजिटल कक्षाकोठा स्थापनाका सन्दर्भमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह भन्नुहुन्छ, “हाम्रा बालबालिकाहरू हाम्रो पहिलो प्राथमिकता हुन् । उनीहरूमा गर्ने लगानीले मात्र उनीहरूलाई विद्यालय, समाज र देशप्रति गर्व गर्न सक्ने आधार तयार हुन्छ भन्ने कुरामा हामी स्पष्ट छौँ । यस अभियानमा सबैको अपनत्व र सहभागिता अपरिहार्य छ ।”
महानगरका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार महानगरले स्मार्ट बोर्डको गुणस्तरीयतामा विशेष ध्यान दिएको छ । उहाँ भन्नुहुन्छ ,“विद्यालयलाई स्मार्ट बोर्ड खरिदका लागि बजेट पठाइएको छ । विद्यालयले खरिद गर्दा गुणस्तर कायम गर्न न्यूनतम मापदण्ड तोकिएको छ ।”
काठमाडौँ महानगर सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार अहिलेको युग विज्ञान र प्रविधिको युग भएकाले विद्यालयका कक्षाकोठा पनि प्रविधिमैत्री बन्नैपर्छ ।“पहिले सधैँ चक–डस्टर लिएर पाठ्यपुस्तक हेरी पढाउने एकै किसिमको विधि चल्दै आएको थियो । प्रविधिको यत्रो विकास भइसकेको सन्दर्भमा त्यही पुरानो शैलीमा मात्र शिक्षामा परिवर्तन सम्भव छैन,” उहाँ भन्नुहुन्छ, “स्मार्ट बोर्डले विद्यार्थी र शिक्षक दुवैका लागि अध्ययन–अध्यापनमा उत्साह र सक्रियता ल्याउनेछ भन्ने विश्वास गरेका छौँ ।”
स्मार्ट बोर्डको आकार कक्षा कोठाको परिमाण र विद्यार्थी सङ्ख्याका आधारमा निर्धारण गरिएको छ । महानगरका वरिष्ठ शाखा अधिकृत तथा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका फोकल पर्सन सुशील सुवेदीका अनुसार,’’विद्यालयले पठाइएको बजेटको १ प्रतिशत रकम प्रयोग गरेर लागत अनुमान र स्पेसिफिकेसन तयार गर्न पाउनेछन् । विद्यालयकै टेक्निकल टिमले परीक्षण गर्ने व्यवस्था मिलाइएको छ, जस्तो पायो त्यस्तै बोर्ड खरिद नहोस् भन्ने नै महानगरको मनसाय हो ।’’
स्मार्ट बोर्ड खरिदमा विद्यालयलाई स्वायत्तता दिइए पनि गुणस्तर र पारदर्शिता कायम गर्न महानगरका शिक्षा विभाग, सूचना प्रविधि विभाग र सहरी योजना आयोगको छुट्टै टोलीले खरिद प्रक्रियादेखि लिएर टेक्निकल तथा आर्थिक पक्षसम्म अनुगमन गर्नेछन् ।
गत आर्थिक वर्षमा खरिद भएका ३१३ वटा स्मार्ट बोर्ड विद्यालयहरूलाई हस्तान्तरण भएको छ । सुवेदीका अनुसार हाल खातामा रकम निकासा भइसकेको छ र माघ मसान्तभित्र कार्य सम्पन्न गर्ने कार्यादेश दिइएको छ । विद्यालयले चाँडै काम गरेमा तिहारअघि नै स्मार्ट बोर्ड जडान सम्पन्न हुन सक्ने अवस्था छ ।
पहिले नै विद्यालयहरूमा १७७ वटा स्मार्ट बोर्ड जडान भइसकेका छन् । गत आर्थिक वर्षको बजेटबाट थप ३१३ बोर्ड वितरण भएको छ । यसमा चालु योजनाअनुसार थप ५७० स्मार्ट बोर्ड जडान हुने भएकाले जम्मा १,०६० बोर्ड जडान हुनेछन् ।
अब विद्यालयहरूमा सबै कक्षाकोठामा स्मार्ट बोर्ड पुग्नेछन् भने ठूला र धेरै सेक्सन भएका विद्यालयहरूमा पनि ८० प्रतिशतभन्दा बढी कक्षाकोठा समेटिने अपेक्षा गरिएको छ । बाँकी कक्षाकोठाहरूका लागि आगामी वर्ष बजेट विनियोजन गरिनेछ ।यस योजनाबाट सामुदायिक विद्यालयका करिब ५३ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ ।
स्मार्ट बोर्ड खरिदका लागि बजेट महानगरको ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ शीर्षक अन्तर्गत महानगर गौरव योजनामार्फत प्रदान गरिएको हो । विद्यालयहरूले स्वायत्त रुपमा खरिद गर्न सक्ने गरी व्यवस्था गरिएको छ, तर महानगरले गुणस्तर, पारदर्शिता र समयसीमामा विशेष जोड दिएको छ ।
यसरी काठमाडौँ महानगरपालिकाले स्मार्ट बोर्डमार्फत अध्यापन विधि र विद्यार्थीको सिकाइ वातावरणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेको छ ।