अन्तर्राष्ट्रिय खुसी दिवस: कसरी पाउने दीर्घकालीन खुसी? यस्तो छ डा. समीम अख्तरको सुझाव
७ चैत, काठमाडौं ।
अन्तर्राष्ट्रिय खुसी दिवस प्रत्येक वर्ष मार्च २० तारिखका दिन विश्वभर मनाइन्छ । संयुक्त राष्ट्रसंघले खुसीलाई मानव जीवनको आधारभूत लक्ष्य र अधिकारका रूपमा मान्यता दिँदै यो दिवस मनाउन सुरु गरेको हो ।
सन् २०११ मा संयुक्त राष्ट्रसंघको महासभाले खुसीलाई मानवको आधारभूत लक्ष्य मान्ने प्रस्ताव पारित गरेको थियो भने सन् २०१३ देखि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
यो दिवसको अवधारणा अघि बढाउन छिमेकी देश भुटानको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । भुटानले सन् १९७० को दशकदेखि आर्थिक वृद्धिभन्दा ‘कूल राष्ट्रिय खुसी’लाई प्राथमिकतामा राख्दै आएको छ ।
यसै अवसरमा क्यान्सर विशेषज्ञ तथा अन्कोलोजी फिजिसियन डा. समीम अख्तरसँग गरेको कुराकानीमा उनले खुसीलाई व्यक्तिको अनुभव, अवस्था र परिवेशअनुसार फरक–फरक रूपमा व्याख्या गर्न सकिने बताएका छन् । उनका अनुसार खुसी मनभित्रबाट उत्पन्न हुने प्रसन्नता र सकारात्मक अनुभूतिको अवस्था हो, जसले व्यक्तिको सोच र व्यवहारलाई प्रभाव पार्छ ।
डा. अख्तरले एउटै घटना फरक व्यक्तिका लागि फरक अनुभूति दिने उदाहरण दिँदै भने, ‘एउटा खेलमा एक टिमको जित अर्को टिमका लागि हार हो । त्यसैले एउटै परिस्थितिमा पनि खुसीको अनुभूति फरक हुन सक्छ ।’
उनका अनुसार खुसी दुई प्रकारको हुन सक्छ–क्षणिक र दीर्घकालीन । कुनै उपलब्धि हासिल गर्दा प्राप्त हुने खुसी क्षणिक हुन सक्छ भने जीवनको स्थायित्व, परिवारको सफलता वा सन्तानको प्रगति जस्ता कुराले दीर्घकालीन सन्तुष्टि प्रदान गर्छ ।
उनी भन्छन्, ‘सुख र दुःख जीवनका दुई पाटा हुन् । जसरी रातपछि दिन र दिनपछि रात आउँछ, त्यसरी नै जीवनमा सुख–दुःख आइरहन्छन् । त्यसैले सन्तुलनमा रहनु नै वास्तविक खुसी हो ।’
डा.अख्तरका अनुसार खुसी प्राप्तिका लागि सामाजिक सम्बन्ध अत्यन्तै महत्वपूर्ण हुन्छ । मानिसले एकअर्कासँग हेरचाह र साझेदारी गर्दा मात्र वास्तविक सन्तुष्टि प्राप्त गर्न सक्छ । ‘मानिस सामाजिक प्राणी भएकाले एक्लोपनले दीर्घकालीन खुसी दिन सक्दैन,’ उनले भने ।
उनले डिजिटल युगले जीवन सहज बनाए पनि मानिसबीचको प्रत्यक्ष सम्बन्ध कमजोर हुँदै गएकोतर्फ ध्यानाकर्षण गराए । ‘पहिले मानिसहरू भेटघाट गरेर सम्बन्ध सुदृढ बनाउँथे, अहिले धेरै कुरा प्रविधिमा सीमित भएका छन्, जसले आत्मीयता घटाएको छ,’ उनले भने ।
मानसिक स्वास्थ्य सन्तुलनका लागि नियमित व्याम, योग, ध्यान तथा सामाजिक क्रियाकलापमा सहभागिता आवश्यक रहेको उनले सुझाए । उनका अनुसार शरीरमा डोपामिन, सेरोटोनिन, अक्सिटोसिन र एन्डोर्फिन जस्ता हर्मोनहरूको सन्तुलनले पनि खुसीको अनुभूति बढाउँछ ।
उनी भन्छन्, ‘तनाव पनि दुई प्रकारको हुन्छ डिस्ट्रेस (हानिकारक) र युस्ट्रेस (फाइदाजनक)। सकारात्मक गतिविधिले युस्ट्रेस बढाउँछ, जसले स्वास्थ्य र खुसी दुवैमा सुधार ल्याउँछ ।’
डा. अख्तरले आर्थिक अस्थिरता, स्वास्थ्य समस्या, सामाजिक दबाब र अपेक्षाहरू पूरा नहुनुजस्ता कारणले मानिसहरू दुःखी हुने गरेको उल्लेख गर्दै यस्तो अवस्थामा सीप विकास, आत्मनिर्भरता र सकारात्मक सोच आवश्यक रहेको बताए ।
उनले सबैलाई सन्देश दिँदै भने, ‘आफूलाई माया गर्न सिकौँ, स्वास्थ्य जीवनशैली अपनाऔँ, समाजप्रति जिम्मेवार बनौँ र एकअर्कालाई सहयोग गरौँ । सानो–सानो सकरात्मक प्रयासले नै समृद्ध र खुसी समाज निर्माण सम्भव हुन्छ ।’
डा. अख्तरका अनुसार खुसी जन्मजात मात्र नभई सिकेर विकास गर्न सकिने क्षमता पनि हो । जीवनमा अनुशासन, सकारात्मक सोच र निरन्तर अभ्यासमार्फत मानिसले आफूलाई खुसी बनाउने तरिका सिक्न सक्छ । खुसी एकाएक प्राप्त हुने अवस्था होइन । यसका लागि खेलाडी वा संगीत साधकजस्तै नियम, अनुशासन, अभ्यास र निरन्तर प्रयास आवश्यक हुन्छ ।
गास, बास, कपासजस्ता आधारभूत आवश्यकतासँग जोडिएको खुसी प्रायः क्षणिक हुने उनले उल्लेख गरे । आम्दानी, खर्च र आर्थिक अस्थिरताले मानिसको मनोस्थिति प्रत्यक्ष प्रभाव पार्ने बताए । उनले भने, ‘प्रायःजस्तो खुशी भनेको एक किसिमको भावना हो ।
खुसी जन्मजात मात्र नभई सिकेर विकास गर्न सकिने क्षमता पनि हो । यो क्षणिक पनि हुन सक्छ । कुनै खुशी जुन हुन्छ मन भित्रबाट आउने मन प्रफुल्लित हुने प्रसन्न हुने एक चरणमा पुगिसकेपछि मान्छेको अवस्था अथवा उमेर एउटा चरणमा पुगिसकेपछि खुशी भनेको बेग्लै कुरा हुन्छ ।
अन्तर्राष्ट्रिय खुसी दिवसले व्यक्तिगत मात्र नभई सामूहिक रूपमा पनि सुखी जीवनको महत्त्वलाई उजागर गर्दै आपसी सहकार्य, सद्भाव र मानवीय सम्बन्ध सुदृढ गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।
For more: Karuna City Clinic Cancer Specialist Dr. Samim Akhter


