५ महिनाभित्र १० प्रमुख शहरमा निःशुल्क वाइफाइ: सञ्चारमन्त्रीको पहिलो निर्णय
६ असोज, काठमाडौं।
नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहणसँगै आफ्नो पहिलो निर्णयमार्फत आगामी पाँच महिनाभित्र देशका १० प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन्।
आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा मन्त्री खरेलले कर्मचारीले प्रस्तुत गरेको प्रस्तावमा केही संशोधन गर्दै उक्त निर्णय लिएका हुन्।
निर्णय अनुसार काठमाडौं बाहेकका प्रमुख १० शहरका मुख्य सार्वजनिक स्थलमा वाइफाइ सुविधा विस्तार गरिनेछ। यस परियोजना अन्तर्गत पूर्वाधार निर्माण, सेवा प्रदायक छनोट र प्रविधिगत व्यवस्थापनका कामलाई प्राथमिकताका साथ अघि बढाइने मन्त्रालयले जनाएको छ।
पदभार ग्रहणपछि मन्त्री खरेलले भने, ६ महिनामा कायापलट हुँदैन। जसरी पनि फागुन २१ मा निर्वाचन गर्नुपर्छ। उनले भ्रष्टाचार नियन्त्रण छोटो समयमा सम्भव नभए पनि ठोस काम गरेर नागरिकलाई अनुभूत हुने परिणाम दिने प्रतिवद्धता जनाए। खरानी र धुलो टक्टक्याउँदै अनुभूत हुनेगरी काम गर्छौं।
मन्त्री खरेलले कर्मचारीतन्त्रलाई राजनीतिक हस्तक्षेपबिनै स्वतन्त्र रूपमा काम गर्नुपर्नेमा जोड दिए। उनले भने, यदि नेताको गोटी भएनन् भने, मन्त्रीको चम्चा भएनन् भने, हाम्रा हरेक कर्मचारीमा दक्षता छ। मन्त्रालयको तर्फबाट कुनै पनि हस्तक्षेप हुने छैन।”
सञ्चारमन्त्री खरेलले देश र जनतालाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै ६ महिनामा कायापलट नभए पनि ठोस सुधार देखिने विश्वास दिलाएका छन्।
For More:- Jagdish Kharel New Minister