सञ्चार मन्त्री जगदीश खरेलले दिए राजीनामा
५ माघ २०८२, काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्दै दलीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्षमा पुगेकाले पद त्याग्ने निर्णय लिएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खरेलले वर्तमान सरकारमा सहभागी हुने अवसर प्रदान गरिएकोप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले जेनजी जनआन्दोलनको जग र नागरिक आकांक्षाबाट बनेको वर्तमान गैरराजनीतिक नागरिक सरकार इमानदारी, निष्ठा र नैतिकताको उदाहरण बनेको उल्लेख गरेका छन् ।
चार महिनाको कार्यकालमा मन्त्रालयको नेतृत्व निष्पक्षता, पारदर्शिता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर गरेको उनको भनाइ छ । साथै, आगामी फागुन २१ मा हुन गइरहेको आमनिर्वाचन सफल बनाउन प्रधानमन्त्री नेतृत्वको सरकारबाट भइरहेको प्रतिबद्धतामा आफू पनि सहभागी हुन पाएकोमा गौरव महसुस गरेको उनले उल्लेख गरेका छन् ।
खरेलले वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षालाई मध्यनजर गर्दै दलीय राजनीतिमार्फत सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्नु आवश्यक ठानेको बताएका छन् । सरकारको स्वतन्त्र र गैरराजनीतिक पहिचानमा आँच नआओस् भन्ने उद्देश्यले दलीय राजनीतिमा प्रवेश गर्नुअघि नै राजीनामा दिएको उनको स्पष्टिकरण छ ।
राजीनामापछि पनि आफ्नो सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन र मानव गरिमाको उन्नयनमा समर्पित रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
For More:-Jagadish Kharel Minister Resignation



