आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी छिटो निष्कर्षमा पुर्याउने बीमा व्यवसायी संघको प्रतिवद्धता
३ असोज, काठमाडौं।
नेपाल निर्जीवन बीमा व्यवसायी संघले हाल जारी आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेको छ।
संघले बीमित सवारी साधन र भौतिक संरचनामा भएको क्षतिको यथार्थ विवरणसहित आवश्यक कागजात चाँडै बीमा कम्पनीमा बुझाउन बीमितहरूलाई आग्रह गरेको छ। बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्व पूरा गर्दै क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्तिमार्फत संघले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
संघले राष्ट्रपतिको भवन, संसद भवन, सुरक्षानिकाय, निजी तथा सार्वजनिक सम्पत्ति, उद्योग, व्यापार, यातायातलगायतका भौतिक संरचनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बीमा कम्पनीहरूलाई दावी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न आह्वान गरेको छ।
संघका अध्यक्ष राजेन्द्र मल्लले बीमा कम्पनीहरूले दावी प्रक्रिया छिटो टुंग्याउन प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। उनले बीमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजात तुरुन्तै बीमा कम्पनीमा बुझाई दावी प्रक्रिया सहज बनाउन सहयोग गर्न अपिल गरेका छन्।
अध्यक्ष मल्लका अनुसार, २०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता र उपयोगिता अझ गहिरो रूपमा महसुस भएको हो। हालको परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियता सकारात्मक र आशाजनक रहेको उनको भनाइ छ।
For More:-damage claims during protests