इनिसा विक हत्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
१ चैत, काठमाडौँ ।
नेपाल दलित मुक्ति मोर्चाले बालिका इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारसमक्ष माग गरेको छ ।
सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापन–पत्र बुझाउदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याइ पीडित परिवारलाई न्याय दिन माग गरेको हो ।
साथै मोर्चाले घटनामा संलग्नलाई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पीडित परिवारमा पर्न गएको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपुर्तिको लागि माग गरेको छ ।
ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनैपनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीताका साथ लागि परेको बताए ।
सुर्खेतको गुर्भाकोट नपा.–६ स्थायी घर भई हाल विरेन्द्रनगर–१ म बसोवास गर्दै स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीय बालिका इनिसा वि.क.को हत्या भएको थियो ।
उनको गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न भनी घरबाट बाहिर गएको र अबेरसम्म घर नफर्केकाले खोजी गर्दा विरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएको थियो ।
समग्र घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि क्रुरतापूर्वक हत्या भएको देखिएको मोर्चाले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
For More:-Inisa BK murder investigation


