काठमाडौँको वायु प्रदूषण कम गर्न इनड्राइभको पहल: “काठमाडौँ क्लिन एयर डायलोग” सम्पन्न
१० फागुन, काठमाडौँ।
इनड्राइभले “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गर्दै काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित, दिगो र कार्यान्वयनयोग्य उपायहरू खोज्न विभिन्न सरोकारवालाहरूलाई एउटै मंचमा ल्याएको छ ।
कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञहरू, अनुसन्धान संस्था, नागरिक समाजका प्रतिनिधि तथा निजी क्षेत्रका अग्रणी व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
यस संवादको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीको विषयका रूपमा स्वीकार गर्दै नीति–समन्वय, तथ्यमा आधारित निर्णय प्रक्रिया र ठोस कार्ययोजनातर्फ अगाडि बढ्नु हो।
सहभागीहरूले हालको वायु गुणस्तर अवस्था, प्रदूषणका प्रमुख स्रोतहरू, विद्यमान नीति तथा कार्यक्रमहरूको प्रभावकारिता, र कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे गहन तथा परिणाममुखी छलफल गरेका थिए ।
काठमाडौँ क्लिन एयर डायलोग चार प्रमुख उद्देश्यहरूमा केन्द्रित थियोः
१. उच्च–स्तरीय सरोकारवाला समन्वय
सरकारी निकाय, विकास साझेदार, अनुसन्धान संस्था तथा निजी क्षेत्रबीच स्पष्ट भूमिका र जिम्मेवारीसहितको प्रभावकारी समन्वय संयन्त्र स्थापना गर्ने ।
२. वर्तमान अवस्थाको समग्र नक्साङ्कन
काठमाडौँ उपत्यकामा वायु गुणस्तरको वर्तमान अवस्था, प्रमुख प्रदूषण स्रोतहरू (जस्तैः यातायात, उद्योग, निर्माण गतिविधि, र घरेलु इन्धन प्रयोग) तथा लागू भएका नीतिहरूको समीक्षा गर्ने ।
३. अवरोधहरूको पहिचान र रणनीतिक समाधान
नीतिगत, संरचनागत र व्यवहारगत अवरोधहरू पहिचान गरी व्यावहारिक, चरणबद्ध र दिगो समाधानहरू प्रस्ताव गर्ने ।
४. निजी क्षेत्रको सक्रिय सहभागिता प्रवद्र्धन
नवप्रवर्तन, प्रविधिको प्रयोग, विद्युतीय तथा दिगो यातायात प्रणालीको विस्तारमार्फत निजी क्षेत्रलाई वायु प्रदूषण न्यूनीकरणका पहलहरूमा सक्रिय रूपमा संलग्न गराउने वातावरण सिर्जना गर्ने ।
कार्यक्रममा सरकारको सहभागिता उल्लेखनीय रूपमा उत्साहजनक थियो । प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै माननीय वन तथा वातावरण मन्त्री माधव चौँलागाईले सरकारले हालसम्म गरेका प्रगतिहरूलाई उल्लेख गर्दै आगामी दिनमा अझ तीव्र, समन्वित र परिणाममुखी कार्यको आवश्यकता औँल्याउनुभयो ।
उहाँले साझा लक्ष्यका लागि विभिन्न सरोकारवालाहरूलाई एउटै मंचमा ल्याउन पहल गरेकोमा इनड्राइभ तथा एएआईको प्रशंसा गर्नुभयो ।
काठमाडौँको वायु प्रदूषण समस्या बहुआयामिक छ । उत्सर्जनको ठूलो हिस्सा बायोमास तथा घरेलु इन्धन प्रयोगबाट आउने गरेको छ भने यातायात र औद्योगिक विस्तारले थप दबाब सिर्जना गरिरहेको छ।
भौगोलिक अवस्थाका कारण जाडो याममा प्रदूषणको स्तर अझ बढ्ने गरेको छ । यस्ता चुनौतीहरू समाधान गर्न विश्वसनीय तथ्याङ्क, पारदर्शी अनुगमन प्रणाली, जनविश्वास र समन्वित कार्य अनिवार्य हुन्छ।
विशेष गरी अन्तर्राष्ट्रिय सहयोग क्रमशः घट्दै गएको सन्दर्भमा स्थानीय स्वामित्वमा आधारित दिगो प्रणालीहरूको विकास अझ महत्त्वपूर्ण बनेको छ ।
संवादले नेपाल ताजा पहल (“ताजा“ को अर्थ कजाख भाषामा “स्वच्छ“) को लागि सुरुवात बिन्दुलाई पनि चिन्ह लगायो, जुन एएआईको प्रमाणित ’ब्रेन, भ्वाइस, ब्रिज’ ढाँचाबाट प्रेरित छः
ब्रेनः विश्वसनीयता सुनिश्चित गर्न डाटा–आधारित प्रणालीहरूको विकास, स्वतन्त्र अनुगमन सञ्जाल, अनुसन्धान तथा उन्नत मोडेलिङ सहित ।
भ्वाइसः वैज्ञानिक प्रमाणलाई सार्वजनिक बुझाइ र सुधारका लागि सामूहिक मागमा रूपान्तरण गर्ने ।
ब्रिजः विज्ञान र जनसमर्थनलाई दिगो नीति, कानुनी सुधार र संस्थागत परिवर्तनमा रूपान्तरण गर्ने ।
अल्माटी एयर इनिसिएटिभकी सीईओ जुलदिज साउलेबेकोभाले भन्नुभयो, “वायु गुणस्तरमा दिगो सुधार ल्याउन विश्वसनीय तथ्याङ्क, सचेत नागरिक र सरकारसँगको नजिकको सहकार्यमा आधारित बलियो स्थानीय प्रणाली आवश्यक पर्छ।
अल्माटीमा प्राप्त अनुभवले देखाउँछ कि जब प्रमाण, सार्वजनिक सहभागिता र नीति एकसाथ आउँछन्, प्रणालीगत परिवर्तन सम्भव हुन्छ। काठमाडौँले आफ्नै स्थानीय रूपमा सञ्चालन हुने स्वच्छ वायु मार्ग निर्माण गर्ने यात्रामा हामी सहयोग गर्न पाउँदा गर्व महसुस गर्छौं ।
समग्रमा, “काठमाडौँ क्लिन एयर डायलोग” ले स्वच्छ हावा, स्वस्थ नागरिक र दिगो शहरी भविष्यतर्फ नेपालले चाल्न खोजेको अन्तर–क्षेत्रीय सहकार्यको महत्वपूर्ण प्रारम्भिक कदमको प्रतिनिधित्व गर्दछ ।
यसले नीति, विज्ञान र निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ गर्दै दीर्घकालीन जनस्वास्थ्य तथा वातावरणीय लाभ सुनिश्चित गर्ने दिशामा स्पष्ट सन्देश दिएको छ ।
For more: inDrive Tackling Kathmandu’s Air Pollution


