डिजिटल पूर्वाधार साझेदारीमा विश्वासिलो विकल्पको रूपमा उदाउँदै भारत
२० असोज २०८२, काठमाडौं ।
विश्वव्यापी रुपमा कृत्रिम बुद्धिमत्ता (#एआई) र कम्प्युटिङ प्रविधि तीव्र गतिमा अघि बढिरहेका बेला भारत दीर्घकालीन डिजिटल पूर्वाधार साझेदारीका लागि विश्वासिलो विकल्पको रूपमा उदाउँदै गएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सेंट्रमद्वारा प्रकाशित प्रतिवेदनअनुसार, विश्वका ७० प्रतिशत कम्प्युटर–इन्टेन्सिभ मोडेलहरू अमेरिकामा विकास भइरहेका छन् भने चीनले प्रविधिगत अलगावलाई प्राथमिकता दिइरहेको छ । यसैबीच, पश्चिमी मुलुकहरू नियामक स्थायित्वमा केन्द्रित भइरहेका बेला भारतले वैकल्पिक अवसर देखाइरहेको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार, भारतको डेटा सेन्टर क्षमता सन् २०२४ मा १.४ गीगावाट पुगेको छ । जसको बजार आकार करिब ५.०३ अर्ब अमेरिकी डलर बराबर छ । यो क्षमता सन् २०३० सम्ममा वार्षिक २१ प्रतिशतको दरले बढ्ने प्रक्षेपण गरिएको छ, जुन विश्व औसत ११.२ प्रतिशतको भन्दा दोब्बर हो ।
हाल भारतमा ३.४ गीगावाट क्षमताका डेटा सेन्टर निर्माणाधीन छन् जसका लागि ५० अर्ब अमेरिकी डलरभन्दा बढीको लगानी भइसकेको छ । तर प्रतिवेदनले माग र आपूर्ति बीच ठूलो खाडल देखाएको छ ।
सन् २०२८ सम्म भारतलाई ६.५ देखि ८.३ गीगावाट क्षमताको आवश्यकता पर्ने अनुमान गरिएको छ तर आपूर्ति केवल ४.८ गीगावाटमा सीमित हुने प्रक्षेपण गरिएको छ ।
एआई कार्यभार बढ्दै जाँदा डेटा सेन्टरमा विद्युत खपत सन् २०३० सम्म १६५ प्रतिशतले बढ्ने प्रतिवेदनको निष्कर्ष छ । यसले प्रारम्भिक लगानीकर्तालाई प्रिमियम मूल्य निर्धारणको अवसर दिने सम्भावना रहेको बताइएको छ ।
भारतमा प्रमुख प्राविधिक कम्पनीहरूले ठूलो लगानी घोषणा गरिसकेका छन् । अमेजन वेब सर्भिसेजले १२.७ अर्ब डलर, गुगलले विसाखापट्टनममा ६ अर्ब डलर, माइक्रोसफ्टले ३ अर्ब डलर, र रिलायन्सले एनभिडिया सँग साझेदारीमा जामनगरमा २५ अर्ब डलरको एआई पूर्वाधार परियोजना अघि बढाइरहेका छन् ।
भारतको डिजिटल अर्थतन्त्र यस विस्तारलाई थप बल दिन सहयोगी बनेको बताइएको छ । देशले वार्षिक १६४ अर्ब युपिआई कारोबार प्रक्रिया गर्ने, ५४७ मिलियनभन्दा बढी ओटीटी प्रयोगकर्ता रहने, र मासिक करिब १७.४ एक्साबाइट डेटा उपभोग गर्ने गरेको तथ्याङ्क प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
प्रतिवेदनले भनेको छ, ‘भारत हाल विश्वव्यापी एआई पूर्वाधार क्रान्तिको केन्द्रबिन्दुमा उभिएको छ । जसले आगामी पुस्ताका प्रतिस्पर्धात्मक संरचनालाई पुनःपरिभाषित गर्नेछ । यसपटकको प्रविधि चक्र ‘वैकल्पिक’ नभई ‘अस्तित्वगत आवश्यकता’ हो ।
जसले डिजिटल पूर्वाधारलाई अझै उच्च घनत्वका “एआई फ्याक्ट्री“ र इनफरेन्स सेन्टरतर्फ धकेलिरहेको छ ।’
एएनआई