सिटिजन्स बैंककी सञ्चालक इला शर्माको निधन

Ila Sharma Citizens Bank
Share It On:

 २९ असार, काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिकी सदस्य इला शर्माको करिब ६० वर्षको उमेरमा २०८२ साल असार २८ गतेका दिन हृदयघातका कारण असामयिक निधन भएको छ।

शर्मालाई स्वास्थ्यमा असहज महसुस भएपछि नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी विगत १ वर्षदेखि सिटिजन्स बैंकको सञ्चालक समिति सदस्यका रूपमा कार्यरत थिइन्। कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व-निर्वाचन आयुक्त समेत थिइन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्युमन राइट्समा एलएलएम गरेकी थिइन्। साथै, युनिभर्सिटी अफ हल, यूकेबाट पनि इन्टरनेसनल बिजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डेभलपमेन्टमा एलएलएम गरेकी थिइन्।

शर्मासँग अन्तर्राष्ट्रिय व्यापार, कानुन, जनसम्पर्क, शिक्षा र विकासलगायतका क्षेत्रमा साढे तीन दशक काम गरेको अनुभव थियो। निर्वाचनसम्बन्धी कानुन, नियमावली र निर्देशन निर्माणमा संलग्न उहाँ उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत थिइन्।

उनको पार्थिव शरीरमा आज पशुपतिको आर्यघाटमा बैंकका अध्यक्ष प्रबल जंग पाण्डे, सञ्चालक दिग्विजय विष्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत  गणेश राज पोखरेललगायत बैंकका व्यवस्थापन समूहहरू, बैंकका शेयरधनी र कर्मचारीहरूले पुष्पमाला अर्पण गरी अन्तिम बिदाई गरे ।

शर्माको असामयिक निधनले सिटिजन्स बैंक परिवार स्तब्ध भएको छ र बैंकलाई अपूरणीय क्षति पुर्‍याएको छ। सिटिजन्स बैंक परिवार उनको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ।

For More:-Ila Sharma Citizens Bank Demise


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *