हुवावेको ‘सिड्स फर द फ्युचर’ बाट नेपाली विद्यार्थीले पाए विश्वस्तरीय प्रविधि ज्ञान: एआई र फाइभजीमा विशेष तालिम
२१ माघ, काठमाडौँ।
नेपालको दूरसञ्चार क्षेत्रको विकासमा हुवावे विगत दुई दशकदेखि सक्रिय छ । विशेषगरी यस क्षेत्रमा टुजी, थ्रीजीदेखि फोरजीसम्मको सेवा विस्तारका लागि हुवावेले नेपालका टेलिकम कम्पनीसँगको सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
त्यसबाहेक डाटा सेन्टर, आइसिटी पूर्वाधार, नेटवर्क निर्माण र स्मार्टफोनका साथै कम्जुमर इलेन्ट्रोनिक्सका क्षेत्रमा पनि उल्लेख्य योगदान दिएको छ।
पूर्वाधार विकाससँगै हुवावेले युवा प्रतिभा विकासलाई विशेष प्राथमिकता दिएको छ । दक्ष जनशक्तिलाई नेपालको डिजिटल भविष्यको आधारस्तम्भका रूपमा स्वीकार गर्दै कम्पनीले राष्ट्रिय डिजिटल प्राथमिकतासँग मेल खाने सीपयुक्त आईसीटी प्रतिभा विकासका लागि विभिन्न पहलहरू गर्दै आएको छ ।
सोही कार्यक्रमअन्तर्गत हुवावे नेपालले सन् २०१९ मा ‘सिड्स फर द फ्युचर’ कार्यक्रम नेपालमा सुरु गरेको थियो । यो कार्यक्रम हुवावेको विश्वव्यापी संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु भएको हो । जसको उद्देश्य युवा आईसीटी प्रतिभा विकास, डिजिटल नवप्रवर्तन प्रवद्र्धन तथा भावी प्रविधि नेतृत्व तयार गर्नु हो।
उक्त कार्यक्रम सुरु भएपछि चीन, थाइल्यान्ड र सिंगापुरमा भौतिक तथा भर्चुअल रूपमा सञ्चालन गरिएका अन्तर्राष्ट्रिय सांस्कृतिक तथा प्राविधिक आदान–प्रदान कार्यक्रममा ४९ जना नेपाली विद्यार्थी सहभागी भई तालिम प्राप्त गरेका छन् ।
साथै, नेपालमै सञ्चालन गरिएका स्थानीय तालिम तथा डिजिटल सीप विकास कार्यक्रमबाट १७० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । विश्वव्यापी रूपमा सन् २००८ मा थाइल्यान्डबाट सुरु भएको यस कार्यक्रमबाट हालसम्म १४० भन्दा बढी देशका १९ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् ।
यस कार्यक्रमअन्तर्गत सन् २०२५ मा पाँच जना उत्कृष्ट नेपाली विद्यार्थी ‘सिड्स फर द फ्युचर’ कार्यक्रममा छनोट भएका थिए । जसमा विश्वका १० भन्दा बढी देशका ६५ भन्दा बढी विद्यार्थी सहभागी थिए ।
उक्त कार्यक्रममा जोडिएर विद्यार्थीहरूले फाइभजी, एआई र क्लाउड कम्प्युटिङसम्बन्धी व्यवहारिक आईसीटी तालिममा सहभागिता जनाउँदै डिजिटल अर्थतन्त्रमा उदीयमान प्रविधिबारे प्रत्यक्ष अनुभव हासिल गरेका थिए ।
सहभागीहरूले हुवावेका स्मार्ट पिभी समाधानबारे पनि अध्ययन गरेका थिए । जहाँ सौर्य ऊर्जा, ऊर्जा व्यवस्थापनको संयोजनले दिगो सहर र औद्योगिक सञ्चालन कसरी सम्भव बनाइरहेको छ भन्ने विषयमा जानकारी समेत दिइएको थियो ।
विद्यार्थीहरूले स्मार्ट गभर्नेन्स मोडलमार्फत एआईलाई प्रणालीगत शासन प्रक्रियामा समावेश गरी कार्यक्षमता र नागरिक–केन्द्रित सेवा कसरी प्रवद्र्धन गरिँदैछ भन्नेबारे समेत जानकारी लिएका थिए ।
त्यस्तै विद्यार्थीहरूले ड्रोन प्रविधि तथा स्वचालित प्रणालीबारे जानकारी लिँदै कृषि, विपद् व्यवस्थापन र सार्वजनिक सेवामा यसको व्यावहारिक प्रयोगबारे अनुभव आदानप्रदान गरेका थिए । इनोएक्स एकेडेमीमार्फत चीनको ‘इन्नोभेसन इकोसिस्टम’ को अवलोकन गर्दै स्टार्टअपहरूबारे विस्तृत जानकारी दिइएको थियो ।
कार्यक्रम अन्तर्गत विश्वका प्रतिष्ठित व्यवसायिक व्यक्तिहरूसँग नवप्रवर्तन र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्नेगरी छलफल गरिएको थियो । चीनका विभिन्न सहरका नवप्रवर्तन केन्द्रहरूको भ्रमण गरी विद्यार्थीहरूले प्रविधिको विकासबारे प्रत्यक्ष अनुभूति गरेका थिए ।
कार्यक्रमले विद्यार्थीलाई प्राविधिक अनुभवका साथै सहभागीहरूले विश्वभरका सहकर्मीहरूसँग सम्पर्क विस्तार, विचार आदान–प्रदान तथा अन्तर–सांस्कृतिक मित्रता निर्माण गर्न पाएका थिए ।
हुवावे नेपालले ‘सिड्स फर द फ्युचर’ कार्यक्रम चर्चित विश्वविद्यालयहरू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, र युनेस्कोसँग सहकार्यमा कार्यान्वयन गर्दै आएको छ। यसले राष्ट्रिय युवा सशक्तीकरण तथा डिजिटल विकास नीतिसँग कार्यक्रमको सामञ्जस्य सुनिश्चित गरेको छ।
For more: Huawei Trains Nepali Students in AI



