दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा सहकार्य गर्दै काठमाडौँ महानगरपालिका र निजी क्षेत्र

How Skill Fair Connects Skilled Worker
Share It On:

२३ वैशाख, काठमाडौं।

काठमाडौँ महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ। महानगरपालिकाले गत वर्ष आयोजना गरेको ‘सिप मेला २०८१’ ले सिपयुक्त जनशक्ति र रोजगारदाताबीच पुलको काम गरेको निष्कर्ष निकाल्दै यस वर्ष पनि सोही मेलालाई निरन्तरता दिने भएको छ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग आज भएको बैठकमा निजी, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरूले गत वर्षको सिप मेलाको प्रशंसा गर्दै आगामी मेलामा सहकार्य गर्न तत्पर रहेको बताएका छन्।

प्रमुख शाहले यस वर्ष २०८२ जेठ ७ गतेदेखि टुँडिखेलमा गत वर्षझैँ सिप मेला सञ्चालन गर्ने तयारी रहेको जानकारी गराउनुभयो। उहाँले महानगरपालिकाले वर्षभरि सञ्चालन गर्ने सिपमूलक तालिमलाई निजी क्षेत्रको माग अनुसार परिमार्जन गर्दै लैजाने बताउनुभयो। प्रमुख शाहले निजी क्षेत्रबाट कस्तो जनशक्ति आवश्यक छ भन्ने माग आएमा सोही अनुसारको तालिम सञ्चालन गर्न महानगरपालिका तयार रहेको बताउँदै जनशक्तिको माग नै महानगरपालिकाका लागि ठूलो सहयोग हुने धारणा व्यक्त गर्नुभयो।

बैठकमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि के. सी. लगायत निजी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो। उहाँहरूले उद्योग क्षेत्रले भोगिरहेको जनशक्तिको अभावलाई कम गर्न महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरू सकारात्मक रहेको बताए। साथै, उहाँहरूले आधारभूत तालिमलाई अद्यावधिक गर्दै विशेषज्ञ तालिम सञ्चालन गर्न, युवा जनशक्तिको पलायन रोक्न, वैदेशिक रोजगारीबाट फर्केका अनुभवी जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन र सेवा निवृत्तहरूको सीपलाई उपयोग गर्न महानगरपालिकाले सहजीकरण गर्नुपर्ने सुझाव दिए।

छलफलमा सहभागीहरूले नेपालमा डकर्मी, सिकर्मी, प्लम्बिङ जस्ता क्षेत्रमा युवाहरूको आकर्षण कम देखिएको तर विदेशमा यही काम सहजै गर्ने गरेको उदाहरण दिँदै यी पेशाहरूमा आकर्षण बढाउनुपर्नेमा जोड दिए। उहाँहरूले सिप मेला दक्ष जनशक्ति र रोजगारदाताबीच सम्पर्क स्थापित गर्ने उपयुक्त माध्यम बन्न सक्ने धारणा व्यक्त गरे।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले गत वर्षको सिप मेलामा २ हजार ७२५ जनालाई तालिम प्रदान गरिएको र तालिम लिएकामध्ये करिब १ हजार २ सय जनाभन्दा बढीले स्वदेश तथा विदेशमा रोजगारी प्राप्त गरेको जानकारी दिनुभयो।

महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम अन्तर्गत १५ हजार व्यक्तिलाई सिपमूलक तालिम प्रदान गरी कम्तीमा ५ हजार जनालाई रोजगारी तथा स्वरोजगारी बनाउने लक्ष्य लिएको छ। यस कार्यक्रमले ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नभएकालाई सिपयुक्त बनाउने, सिप भएकालाई रोजगारी दिने र रोजगारमा भएका तर सिप नभएकाहरूको आय वृद्धि गर्ने उद्देश्य राखेको छ।

गत वर्ष श्रमिक दिवसको अवसर पारेर सुरु भएको सिप मेलाको पहिलो संस्करणमा तालिमका लागि ६८ हजार ८ सय ६६ जनाले आवेदन दिएका थिए। यस वर्षको मेलाले आन्तरिक रोजगारीको सम्भावनालाई उजागर गर्दै सिप नभएर अनौपचारिक क्षेत्रमा रहेका जनशक्तिलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।

For more: How Skill Fair Connects Skilled Workers


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *