भक्तपुरमा मेडिकल कलेज पब्लिक लिमिटेडको अस्पताल युनिट–२ को उद्घाटन
८ चैत, काठमाडौँ ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको अस्पताल युनिट–२ को उद्घाटन गरिएको छ ।
आइतबार आयोजित समुद्घाटन समारोहमा बोल्दै कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्माले यो अस्पताल साधारण नभई ‘सुपर स्पेस्यालिटी’ सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको बताएका छन् ।
उनले भने, ‘यो सामान्य खालको अस्पताल होइन । यसले वरिपरिका साना अस्पतालमा सम्भव नहुने उपचार सेवा उपलब्ध गराउँछ । यसअघि यस्ता सेवा काठमाडौंको रिङरोड भित्रका सीमित अस्पतालमा मात्र सम्भव थियो, अब दुवाकोटबाटै उपलब्ध हुनेछ ।’
शर्माका अनुसार आकस्मिक अवस्थामा हुने ढिलाइलाई कम गर्न अस्पताल स्थापना गरिएको हो ।
‘यहाँ कसैलाई हृदयघात भयो भने एम्बुलेन्स बोलाउनमै १५ मिनेट लाग्छ, जाम नभए पनि केएमसी पुग्न आधा घण्टा, गंगालाल वा टिचिङ पुग्न एक घण्टाभन्दा बढी समय लाग्छ । त्यो समय खेर नजाओस् भनेर १०–१५ मिनेटमै उपचार सम्भव बनाउने उद्देश्यले यो अस्पताल खोलेका हौं,’ उनले भने ।
उनले अस्पतालमा आधुनिक प्रविधिमार्फत जटिल मस्तिष्कसम्बन्धी उपचार पनि सम्भव हुने बताए ।
‘टाउकोको नसामा ब्लकेज वा समस्या आएमा खप्पर नचिरीकन हात वा खुट्टाको नशाबाट तार र बलुन प्रयोग गरेर गिदीसम्म पुगेर उपचार गर्ने सुविधा यहाँ उपलब्ध गराइनेछ,’ उनले जानकारी दिँदै भने ।
For More:-Hospital Unit-2 inauguration Bhaktapur


