स्वास्थ्य बीमा बोर्डद्वारा नगद असुल्ने र भेदभाव गर्ने अस्पताललाई कडा कारबाही गर्ने चेतावनी
२३ चैत, काठमाडौँ।
स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध बिमितहरूलाई औषधि खरिदमा नगद तिर्न लगाउने र सेवा प्रवाहमा भेदभाव गर्ने स्वास्थ्य संस्थाहरूलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।
बोर्डले सोमबार जारी गरेको सूचनामा केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमाको प्याकेजभित्र पर्ने औषधि तथा औषधिजन्य सामग्रीहरू बिमितलाई बाहिरका औषधि पसल वा आफ्नै फार्मेसीबाट नगदमा खरिद गर्न लगाएको व्यापक गुनासो आएको जनाएको छ।
बोर्डका अनुसार यस्तो कार्य स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ को उपनियम १ को खण्ड क विपरीत हुने भएकाले भेटिए कानुन बमोजिम कडा कारबाही गरिनेछ।
साथै केही अस्पतालहरूले स्वास्थ्य बीमा मार्फत सेवा लिन आउने बिमितहरूलाई अग्रिम समय लिनुपर्ने बाध्यता लगाउने र भेदभावपूर्ण व्यवहार गर्ने गरेको पनि बोर्डले गम्भीर ध्यानाकर्षणका साथ उल्लेख गरेको छ। यस्ता गतिविधि नरोकेमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ बमोजिम स्वास्थ्य संस्थासँग गरिएको सम्झौता रद्द गरिने चेतावनी दिइएको छ।
बोर्डले औषधि र अन्य सेवाहरूको दररेटसम्बन्धी निर्देशन पनि जारी गरेको छ। निर्देशनअनुसार यदि कुनै औषधि वा सेवाको अस्पतालको आफ्नै दररेट बीमा सुविधा थैलीमा उल्लेखित दररेटभन्दा कम छ भने अस्पतालले न्यूनतम दरमै दाबी गर्नुपर्ने बताइएको छ।
For More:-Hospital health insurance warnings


