हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो
१७ मंसिर, काठमाडौं ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो ।
चलचित्रमा नेपालको सामाजिक परिवेश र घर-घरको कथा भएकाले सबैको मन छुन सफल भएको कम्पनीले जनाएको छ । ‘वार्षिकोत्सवको अवसरमा सबै कर्मचारी एक साथ बसेर चलचित्र हेर्नु आफैँमा सकारात्मक कुरा हो, वर्षौंपछि त्यो अवसर परानले जुराइदिएको हो’,- कम्पनीकी मानव संशाधन व्यवस्थापन विभागकी प्रमुख सृष्टिना मानन्धरले भन्नुभयो- ‘सामूहिक रुपमा चलचित्र हेर्दा आफ्नोपन र पारिवारिक माहोल बनेको लाग्यो, यसले कर्मचारीहरूमा पनि सहयोग र समन्वय गर्ने भावनाको विकासमा सहयोग पुग्छ।’
चलचित्र हेरेर भावुक बनेपछि कम्पनीकी सहायक कर्मचारी रुपा देउलाले भने- ‘अहिलेको समयमा नेपाली समाजलाई यस्तै सन्देशमूलक चलचित्र चाहिएको छ, आफ्नै घरको कथा भनेकोजस्तै लाग्यो, कलाकारको अभिनय त झनै उत्कृष्ट छ।’ जेनरल सर्भिस डिपार्टमेन्ट लजिस्टिकका सुविन्द्र श्रेष्ठले वरिष्ठ कलाकार नीर शाहको अभिनय र कथाले मन जितेको प्रतिक्रिया दिए ।
एचइआईको कर्पोरेट शोमा निर्देशक दीपक प्रसाद आचार्य र अभिनेत्री अञ्जना बराइली पनि पुगेका थिए । नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ फिल्म जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ ।
For More:-Himalayan Everest Paran Show



