हिमालयन आर्ट फेस्टिभल सुरू, १५० भन्दा बढी कलाकारका कृतिहरू प्रदर्शनमा

Himalayan Art Festival
Share It On:

 २३ भदौ, काठमाडौं । 

ई-आर्ट्स नेपालको आयोजनामा आजदेखि बबरमहलस्थित आर्ट काउन्सिलमा ‘हिमालयन आर्ट फेस्टिभल’ सुरू भएको छ। यस फेस्टिभलको मुख्य उद्देश्य नेपाली कलाकृतिहरूलाई नेपालीहरूको घरमा सजाउने र नेपाली कला क्षेत्रमा रहेको विविधता र सृजनशीलताको प्रचारप्रसार गर्नु हो।

ई-आर्ट्स नेपालकी सह-संस्थापक आशा डङ्गोलका अनुसार, यो फेस्टिभलले नेपाली कलाकारहरूलाई प्रोत्साहन गर्दै नेपाली कलालाई घर-घरमा पुर्‍याउने महत्त्वपूर्ण माध्यम बनेको छ।

यो फेस्टिभल भदौ २९ गतेसम्म चल्नेछ, जहाँ करिब १५० भन्दा बढी कलाकारहरूले आफ्ना कलाकृतिहरू प्रदर्शन गरेका छन्।

वरिष्ठ कलाकारहरूदेखि हालका युवा कलाकारहरूको समकालीन कला यस प्रदर्शनीमा राखिएको छ। फेस्टिभलमा कलाकारहरूको सिर्जनात्मकता मापन गर्न र नेपाली कलाको अवस्था बुझ्न महत्त्वपूर्ण अवसर प्रदान गरिएको छ।

प्रदर्शनीमा देख्न सकिने कलाकारहरूमा कृष्ण मानन्धर, किरण मानन्धर, शशीकला तिवारी, राजन काफ्ले, आशा डङ्गोल, भाइराज मर्हजन, प्रमिला बज्राचार्य, बिनोद प्रधान, विधाता के.सी., सागर मानन्धर, सरिता डंगोल, र युवा कलाकारहरू इशान परियार, सविता डंगोल, सुजन डंगोललगायतका कलाकारहरूको कलाकृति समावेश छन्।

यो प्रदर्शनीमा एक विशेष आकर्षण भनेको सन् २०१९ देखि गरिएको परम्परा अनुसार, एक जना वरिष्ठ कलाकारका कृतिहरूलाई छुट्टै स्थानमा प्रदर्शनी गर्ने कार्यक्रम हो। यस वर्ष उक्त सम्मान वरिष्ठ कलाकार प्राध्यापक गोविन्दनारायण ज्यापुलाई प्रदान गरिँदैछ।

फेस्टिभलले नेपाली कलाको मौलिकता, विविधता, र समकालीन अवस्थालाई झल्काउने मात्र होइन, नेपाली कलाको संरक्षण र प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्नेछ।

For more: Himalayan Art Festival


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *