भारी वर्षामा सञ्चार अवरुद्ध हुन नदिन मन्त्रालयको निर्देशन
१८ असोज २०८२, काठमाडौं ।
देशका अधिकांश भूभागमा भइरहेको अविरल भारी वर्षाले जनजीवन प्रभावित पार्दै गर्दा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विपत्तिको यस घडीमा सञ्चार सेवालाई निरन्तर र प्रभावकारी राख्न मातहतका सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
आज सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय जागरिश (जगदिश) खरेलको उपस्थितिमा भएको छलफलले आगामी तीन दिनसम्म भारी वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै, नागरिकको जीवन रक्षा र जनधनको क्षति रोक्न सञ्चार सम्पर्क विच्छेद हुन नदिन विशेष जोड दिएको छ।
मन्त्री खरेलले सञ्चारमा अवरोध भए तत्काल मर्मत संभार गरी सेवा सुचारु गर्न तयारी अवस्थामा रहन निर्देशन दिँदै विपद्को समयमा जनतालाई सुसूचित गर्न र सुरक्षाका उपाय अपनाउन प्रोत्साहन गर्ने सन्देशमूलक सामग्री प्रकाशन/प्रसार गर्न सञ्चार माध्यमहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।
मन्त्रालयले देशका कुनै पनि भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा वा आकस्मिक सूचना प्रवाह गर्नुपरेमा तत्काल सम्पर्क गर्नका लागि नेपाल दूरसञ्चार कम्पनी (NTC) लाई १४९८, एनसेल (Ncell) लाई ९००५, इन्टरनेट सेवा प्रदायक (ISP) लाई ९८०१८७८९४१ र मन्त्रालयको सिधा नम्बर ९८४१५२०११५ मा खबर गर्न अनुरोध गरेको छ।
यसका साथै मन्त्रीको सचिवालयको सिधा नम्बर ९८५१४१०१०१ समेत उपलब्ध गराइएको छ भने मन्त्रालय र सम्बद्ध टोलीहरू मर्मत तथा पुनः सञ्चालनका लागि तयारी अवस्थामा रहेको जनाइएको छ।