स्वास्थ्य मन्त्रालयको भवन काम लाग्ने अवस्थामा छैन : इन्जिनियर्स एसाेसिएशन
४ असोज, काठमाडौं।
नेपाल इन्जिनियर्स एसाेसिएशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ ।
एसाेसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले शनिबार जेन्जी आन्दोलनको क्रममा आगजनी र तोड्फोड भएको सोही मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताउनुभएको हो । मन्त्रालय परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सर्वोच्च अदालतको पनि उत्तरतिरको भाग कामै नलाग्ने अवस्थामा रहेको बताउनुभयो ।दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा रहेको आफूहरुको प्रारम्भिक निरीक्षणले देखाएको अध्यक्ष बरालकाे भनाइ छ ।
उहाँले भन्नुभयो,-‘स्वास्थ्य मन्त्रालयको भवनको अवस्था हेर्दा यसको वालहरुमा त्यति क्षति नभएपनि अरु टोटल्ली क्षति भएको अवस्था छ । जसले गर्दा यसलाई हाललाई प्रयोग गर्न अत्यन्त जोखिम छ । त्यस्तै, गरेर हामी केही समय अघि सर्वोच्च अदालत हेर्यौं । यसको पनि उत्तरपट्टीको भाग बढी जोखिम छ । त्यसकारण यसमा पनि काम गर्न गाह्रो छ । त्यही भवनको दक्षिणतिरको भाग केही कम क्षति भएको कारणले काम गर्न सहज हुने सुझाव दिएका छौं । यो मिश्रीत छ । जस्तो सिंहदरवारको भवनहरु हेर्दा पनि केही ठाउँमा बढी क्षति भएपनि धेरैजसो ठाँउ क्षति नभएको पनि देखिन्छ । लामो समयसम्म आगो रहिरहेको ठाउँमा बढी डयामेज भएको अवस्था छ ।’
एसाेसिएशनले सरकारसँगको समन्वयमा जेनजी आन्दोलनहरुले तोड्फोड र आगजनी गरेका सरकारी तथा निजी भवनहरुको निरीक्षणको कामलाई तीव्रता दिइएको जानकारी गराउँदै आएको छ । अध्यक्ष बरालले ७ वटै प्रदेश कार्यालयहरुबाट आफूहरुले सोही कामलाई निरन्तरता दिइएको बताउनुभयो ।
For More:-Health Ministry building unusable