स्वास्थ्य मन्त्री डा.गौतमले सार्वजनिक गरिन् दुई महिने कार्यप्रगति
१५ पुस २०८२, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदबहाली गरेको दुई महिनाभित्र स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण नीतिगत र व्यावहारिक कदमहरू चालेको बताएकी छिन्।
कार्तिक १० गते पदबहाली गरेकी मन्त्री गौतमले मानसिक स्वास्थ्य, औषधि व्यवस्थापन, स्वास्थ्य बीमा सुधार, मातृ तथा नवजात शिशु स्वास्थ्य र आप्रवासी श्रमिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम अघि बढाएकी छिन्।
मन्त्रालयले स्वास्थ्य प्रणाली सुधार र कार्यक्षमता बढाउन दुई मुख्य खम्बामा काम अघि बढाएको छ। मन्त्री शर्माले छ वटा प्राथमिकताका क्षेत्र निर्धारण गरी योजनाबद्ध रूपमा कार्य अघि बढाइएको जानकारी दिएकी छिन्।
स्वास्थ्य बीमा सुधार अन्तर्गत बीमाका प्रावधान सुधार गर्न विज्ञ समिति गठन गरिएको छ। अस्पतालहरूको बाँकी भुक्तानी निकासका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको र सामाजिक सुरक्षा कोषसँग छलफल भएको कार्य प्रगतिमा समेटिएको छ। बीमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषदबाट पूर्वस्वीकृत समेत प्राप्त गरिएको छ।
औषधि व्यवस्थापन सुधारका लागि पनि विज्ञ समिति गठन गरिएको छ। औषधि उत्पादक, व्यवसायी र सरोकारवालासँग समस्या पहिचान गरी सुधारका लागि परामर्श गरिएको छ।
पदबहालीपछि मन्त्री गौतमले जेन–जी आन्दोलनका घाइते तथा प्रभावितहरूलाई निःशुल्क मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने घोषणा गरेकी छिन्। शहीद परिवारलाई निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको छ। संघीय अस्पतालहरूमा मानसिक स्वास्थ्यसम्बन्धी आवश्यक औषधि र उपचारको व्यवस्था मिलाउने काम पनि तीव्र रूपमा अघि बढाइएको छ।
मन्त्रालयले ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना’ ल्याएको छ। यसअन्तर्गत संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन, नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित, र मातृ तथा नवजात शिशु मृत्युदर उच्च भएका प्रदेशहरूमा विशेष अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, औषधि खरिद र व्यवस्थापन सुधार गर्ने तथा सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्ने काम पनि प्राथमिकतामा परेका छन्।
मन्त्री गौतमले परम्परागत तथा आयुर्वेदिक चिकित्सा क्षेत्रलाई पनि महत्व दिँदै नरदेवी आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छिन्। स्वास्थ्य बीमामा आयुर्वेद उपचार समावेश गर्ने प्रयास पनि भइरहेको छ।
आप्रवासी नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै वैदेशिक रोजगारीमा जानेहरूका लागि स्वास्थ्य जाँच र परामर्श सेवा प्रभावकारी बनाउने काम अघि बढाइएको छ। साथै विभिन्न अस्पतालहरूको निरीक्षण, नर्सहरूको माग सम्बोधन र स्वास्थ्य सूचक कमजोर प्रदेशहरूमा लक्षित कार्यक्रम सञ्चालन भएका छन्।
मन्त्री गौतमले सुशासन, भ्रष्टाचार नियन्त्रण र संस्थागत सुदृढीकरणलाई मुख्य कार्यादेशका रूपमा अघि बढाएकी छिन्। दुई महिनाभित्रै यी रणनीतिक कदमहरूले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
मन्त्रालयका अधिकारीहरूको अनुसार यी उपलब्धिहरूले नागरिकको स्वास्थ्य अधिकारलाई मजबुत बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएका छन्।
For More:-Minister Gautam progress report



