उत्कृष्ट स्वास्थ्य सेवाको १३ वर्ष: ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मनायो वार्षिकोत्सव
२० पुष २०८२, काठमाडौं ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको ग्राण्डीले शनिबार साँझ एक कार्यक्रमको आयोजना गरि आफ्नो १३ औँ वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवका अवसरमा बोल्दै अस्पतालका अध्यक्ष ईञ्जिनीयर दिपक कुँवरले ग्राण्डीले विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै विरामीको सेवामा अहोरात्र खटिने डाक्टर, नर्स तथा अस्पतालका कर्मचारीलाई धन्यवाद दिए ।
उनले विभिन्न आरोह अवरोहका बीचमा पनि ग्राण्डीले अनवरत रुपमा विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको बताए । उनले भने,–“स्थापनापछि भूकम्प, नाकाबन्दी र कोरोना लगायतका समस्यामा परेको ग्राण्डीले स्वदेशी तथा विदेशी विरामीलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा मलाई ज्यादै खुशी लागेको छ ।”
अध्यक्ष कुँवरले नाफा कमाउनेभन्दा सेवा प्रदान गर्ने उदेश्यका साथ ग्राण्डी स्थापना भएको बताए । कर्मचारीले हिम्मत नहारी सामुहिक रुपमा काम गरेकाले अस्पताल अहिलको अवस्थामा आएको उनको भनाई थियो । उनले ग्राण्डीलाई राजधानी काठमाडौँमा मात्र नभई सातै प्रदेशमा खोल्ने आफ्नो सपना भएको समेत बताए ।
अस्पताल सञ्चालक समितिका सदस्य ईन्जिनीयर विजय राजभण्डारीले ग्राण्डीले कम शुल्कमा गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्दै आएको बताए । उनले ग्राण्डीमा उपचारसँगै हेरचाह राम्रो भएको बताए ।
उनले ग्राण्डीलाई थप सफलताको वाटोमा लैजानका लागि सञ्चालक समिति र व्यवस्थापनको वीचमा सल्लाहकार समिति गठन गरेर अगाडि बढिएको उल्लेख गरे ।
अस्पताल सञ्चालक समिति सदस्य ईन्जिनीयर वीरेन्द्रबहादुर श्रेष्ठले ग्राण्डीका डाक्टर, नर्स र कर्मचारीको अथक मेहनतले ग्राण्डी स्वास्थ्य सेवाको ‘ब्राण्ड’ बनेको भन्दै खुशी व्यक्त गरे । ग्राण्डीका डाक्टर, नर्स र कर्मचारीले विरामीलाई गर्ने व्यवहार राम्रो भएको उनको भनाई थियो ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले सन् २०१३ जनवरी ३ मा स्थापना भएको ग्राण्डीले उपचारसँगै खोज, अनुसन्धान र तालिमलाई प्राथमिकता दिँदै आएको छ । नेपालसहित विश्वका विभिन्न मुलुकका विरामीलाई उपचार सेवा दिँदै आएको ग्राण्डीमा दैनिक ५०० विरामीले ओपिडि सेवा लिँदै आएका छन् ।
अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले अस्पतालमा कार्यरत डाक्टर, नर्स र कर्मचारीको सामुहिक प्रयासका कारण आज ग्राण्डी अस्पताल नेपालको निजी अस्पतालमा अब्बल अस्पताल हुन पुगेको बताए । उनले ग्राण्डीले विगत तीन वर्षमा चार लाखभन्दा बढी विरामीको उपचार गरेको जानकारी दिए ।
कार्यक्रममा अस्पतालमा विगत १० वर्षदेखि निरन्तर काम गर्ने डाक्टर, नर्स तथा कर्मचारीलाई सम्मान गरिएको थियो । ग्राण्डीले आफ्नो १३ औँ स्थापना दिवसको अवसर पारेर शनिबार साँझ प्रजनन तथा प्रजनन विज्ञान केन्द्रको शुभारम्भ समेत गरेको छ । सोही अवसरमा अस्पतालका अध्यक्ष ईन्जिनीयर कुँवर, मेडिकल डाइरेक्टर डा विजुक्छे र डाक्टर विभुतीनाथ मिश्रले ग्राण्डी जर्नलको समेत विमोचन गरेका थिए ।
कुल २०० शैयामार्फत विरामीलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको ग्राण्डीले भर्खरै ‘एडभान्स स्ट्रोक सेन्टर’को समेत मान्यता पाएको छ । ग्राण्डी विश्व स्ट्रोक संगठनबाट ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाउने नेपालको पहिलो अस्पताल समेत बनेको छ ।
For More:-Grande Hospital 13th Anniversary



