सार्वजनिक निकायमा स्वदेशी वस्तु अनिवार्य गर्ने सरकारको निर्णयको स्वागत

Government Decision Mandate Domestic
Share It On:

३  पुस, काठमाडौं।

सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णयको नेपाल उद्योग परिसंघ हार्दिक स्वागत गर्दछ । सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्ने परिसंघको विश्वास छ ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सिफारिसमा नेपाल सरकारले मंसिर २८ गतेको मन्त्रिपरिषद् बैंठकबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित गरेको छ ।

यसले नेपाल उद्योग परिसंघसहित समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको छ । परिसंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँग २०७८ असार १० गते साँझेदारीपत्रमा हस्ताक्षर गरी मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको छ ।

स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रबर्द्धन गर्ने मुख्य उद्देश्यले राखेर अघि बढाइएको मेक इन नेपाल स्वदेशी अभियान कार्यान्वयनमा नेपाल सरकारले आफ्नो बलियो साथ एवम् साझेदारी प्रस्तुत गरेको छ ।

सरकारको यो बलियो साथ एवं सहयोगले स्वदेशी वस्तुहरुको उत्पादन तथा प्रयोगमा नयाँ आयाम थपिने विश्वास परिसंघको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुभएको बेलामा २०७७ फागुनमा यो अभियानको औपचारिक सुरुवात भएको थियो ।

परिसंघले सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्न आग्रह गर्दै आईरहेको छ । सरकारको पछिल्लो निर्णयले स्वदेशी अभियानले राखेको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ ।

‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पूर्ण लागू गर्न परिसंघ अनुरोध समेत गर्दछ । परिसंघले मेक इन नेपाल स्वदेशी अभियानलाई सफल बनाउन नीतिगत सुझावसँगै बिजनेश टू बिजनेस (बीटूबी) पोर्टल संचालनमा ल्याइसकेको छ ।

परिसंघ पछिल्लो पटक संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ) को “अगोरा” प्लेटफर्ममा समेत आवद्ध भई स्वदेशी वस्तुहरुको प्रबर्द्धनमा काम गर्दै आईरहेको छ । परिसंघले स्वदेशीको सामूहिक ट्रेडमार्क समेत प्राप्त गरिसकेको छ ।

For more: Government’s Decision Mandate Domestic


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *