सरकारद्वारा अटोमोबाइल क्षेत्रलाई राहत: नाडाको स्वागत
नेपालमा हालै भएको जेन–जेड आन्दोलनले प्रभावित बनेको अटोमोबाइल उद्योगलाई सरकारले ल्याएको राहत प्याकेजले ठूलो राहत मिलेको छ। सरकारको यस निर्णयलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले हार्दिक स्वागत गरेको छ।
नाडाका अध्यक्ष करण कुमार चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्र्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेटेर आन्दोलनबाट प्रभावित उद्योगका लागि विशेष राहत प्याकेज ल्याउन आग्रह गरेको थियो। सोही आग्रहलाई सम्बोधन गर्दै सरकारले यो कदम चालेको हो।
नाडाले सरकारको यस कदमलाई निजी क्षेत्रको समस्या सुन्ने र तत्काल समाधान गर्ने दृढताको प्रमाण मानेको छ। सरकारले घोषणा गरेका राहत प्याकेजका मुख्य बुँदाहरूमा बीमा सर्वेयरको प्रारम्भिक प्रतिवेदनको आधारमा क्षतिको ५०% अग्रिम भुक्तानी, बीमा कम्पनीहरूले पुनर्र्बीमाको ढिलाइमा ५०% सम्म अग्रिम भुक्तानी, नयाँ व्यावसायिक सवारी खरिदमा बैंक कर्जाको Loan-to-Value (LTV) न्यूनतम ८०% हुने व्यवस्था, क्षतिग्रस्त मालसामानको आयातमा ५०% भन्सार महसुल र अन्तःशुल्क छुट, र प्रभावित उद्योगका लागि साँवा तथा ब्याज भुक्तानी अवधि थप गर्ने लगायतका प्रावधानहरू समावेश छन्।
यी प्रावधानहरूले तत्कालका कठिनाइहरूलाई कम गर्न सहयोग पुग्ने नाडाको विश्वास छ। यद्यपि, नाडाले Loan-to-Value (LTV) को सुविधा आन्दोलन प्रभावित व्यवसायका लागि मात्र नभई सबै सवारी साधनहरूमा विस्तार गर्न सरकारसँग आग्रह गरेको छ।
यसले समग्र बजारको माग बढाउने र अर्थतन्त्रलाई गति दिने नाडाको अपेक्षा छ। साथै, लामो समयका लागि EV रोडम्याप, भन्सार सुधार, र पूर्वाधार विस्तारमा पनि ध्यान दिन नाडाले जोड दिएको छ। यो राहत प्याकेजले सरकार र निजी क्षेत्रबीचको विश्वासलाई अझ बलियो बनाउने र अटोमोबाइल क्षेत्रलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने नाडाको भनाइ छ।