राजेश महतो भन्छन्: जेनजी आन्दोलनमा भाईलाई गोली लाग्यो, दुईवटै खुट्टा नचल्ने भयो
१७ असोज २०८२, काठमाडौं ।
जेनजी आन्दोलनका कारण घाइते भएकाहरु देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
गत भदौ २३ गते काठमाडौं बानेश्वरमा कम्मरमा गोली लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका महोत्तरीका २५ वर्षीय राकेश महतोको भने दुईवटै खुट्टा चल्न नसक्ने अवस्थामा पुगेको छ ।
राकेशका दाजु राजेशका अनुसार गोली लागेका भाइको दुईवटै खुट्टा प्यारालाइसिस हुने संभावना बढेको जानकारी दिए ।
‘भाईलाई काठमाडौंमा राखेर पढाइरहेका थियौं । सरकारी जागिरका लागि लोकसेवाको तयारी गरिरहेको थियो । उसको कम्मरमा गोली लागेकाले खुट्टै नचल्ने अवस्था पुगेको डाक्टरहरुले जानकारी दिनुभएको छ । घरमा आमा पनि विरामी हुनुहुन्छ, कमाइ गर्ने म एक्लो हुँ ।
अब भाई र आमालाई उपचार एवम पालनपोषणमा समस्या पर्न थालेको छ,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने ।
राजेशका अनुसार भाईको अवस्था सामान्य छ तर खुट्टा चलाउन गार्हो भइरहेको छ, डाक्टरहरुले अब उपचार संभव नभएको बताउनुभएको उनले जानकारी दिए । राजेश आक्रोशित हुँदै भन्छन्,‘गोली हान्न आदेश दिनेलाई कारवाही हुनुपर्छ । जीवन गुमाएका परिवार र घाइते भएर आजीवन अशक्त भएकाहरुलाई सरकारले जागिर दिनुपर्छ ।’
वडादशैंका लागि भनेर घरमा खसी किनेर ल्याएको भएपनि दशैं मनाउन नपाएको बताए ।
For more: GenZ Movement protests in Kathmandu