गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गर्दै जेन–जी युनाइटेडद्वारा अर्थमन्त्रीलाई ज्ञापनपत्र
२८ मंसिर, काठमाडौं ।
जेन–जी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ। आइतबार बिहान अर्थमन्त्रालयमा जेन–जी युनाइटेडका संयोजक जनक परियार ले उक्त ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था उल्लंघन गर्दै तत्कालीन सरकारले स्वार्थ समूहको डिजाईनमा डा. पौडेललाई गभर्नर नियुक्त गरेको आरोप लगाइएको छ। साथै, गभर्नर सिफारिसका लागि गठन गरिएको समितिले अख्तियारीको दुरुपयोग गर्दै पौडेललाई सिफारिस गरेको जेन–जी युनाइटेडको दाबी छ।
संयोजक परियारका अनुसार, डा. पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक र कृषि विषयमा स्नातकोत्तर अध्ययन गरे पनि अनुभव र शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन, २०५८ (प्रथम संशोधन २०६३) को मापदण्डअनुसार नपुग्ने उल्लेख गरिएको छ। ऐनको दफा २० (ग) अनुसार गभर्नर बन्नका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा वाणिज्य कानुन विषयमा स्नातकोत्तर उपाधि र सोही क्षेत्रमा उच्च तहको अनुभव आवश्यक पर्ने व्यवस्था रहेको जनाइएको छ।
ज्ञापनपत्रमा डा. पौडेलको नियुक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतमा समेत उजुरी दर्ता भइसकेको उल्लेख छ। सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई गभर्नर पदमा कायम राख्दा सरकारमाथि नैतिक प्रश्न उठ्ने दाबी जेन–जी युनाइटेडले गरेको छ। यससम्बन्धी उत्प्रेषण रिट २०८२/०२/१३ मा दर्ता भइसकेको पनि जनाइएको छ।
त्यसैगरी, ज्ञापनपत्रमार्फत जेन–जी युनाइटेडले अर्थमन्त्रालयमा विचौलियाको चलखेल रोक्न, बैंक तथा वित्तीय संस्थाको मनपरी नियन्त्रण गर्न, अनाधिकृत रूपमा लिएको ब्याज ऋणीलाई फिर्ता गराउन, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई जिम्मेवार बनाउन तथा वैदेशिक ऋणको दुरुपयोग रोक्न समेत माग गरेको छ।
संयोजक परियारले डा. विश्वनाथ पौडेललाई पदबाट हटाई ऐनअनुसार योग्य र अनुभवी व्यक्तिलाई गभर्नर नियुक्त गर्न अर्थमन्त्रीसँग स्पष्ट माग गरेका छन्।
For More:-Governor Poudel dismissal demand



