९ फागुन २०८१, काठमाडौं ।
यूकेमा मुख्यालय रहेको आईटी परामर्श तथा साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनले शुक्रबार (फेब्रुअरी २१) काठमाडौंमा जेनरेटिभ एआई, साइबर सुरक्षा र ग्राहक संलग्नता सम्बन्धी विषयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ ।
कार्यक्रममा जेनेसे सलुशनका प्रमुख प्राविधिक तथा प्रमुख सूचना सुरक्षा अधिकृत निरञ्जन कुँवरले ‘जेनएआई र साइबर सुरक्षा’ विषयमा सम्बोधन गर्नेछन्। त्यस्तै, जेनेस सलुशनका इन्जिनियरिङ विभागका उपाध्यक्ष विष्णु सुवेदीले ‘जेनएआई: प्रवर्द्धनदेखि यथार्थसम्म’ विषयमा प्रस्तुति दिनेछन् भने जेनेस सलुशनकै उत्पादन विभागका उपाध्यक्ष कैलाश बडुले ‘जेनएआईको युगमा ग्राहक संलग्नता’ विषयमा प्रस्तुति दिने छन् ।
यस्तै, न्यूयोर्कस्थित क्रस रिभर बैंकको क्वान्टिटेटिभ स्ट्राटेजिज विभाग प्रमुख प्रवेश रिजालले प्रविधिसम्बन्धी आफ्नो अनुभव साझा गर्नेछन्। कार्यक्रमको अन्त्यमा जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले समापन मन्तव्य दिनेछन्।
कार्यक्रमको क्रममा एडब्लुएस भर्चुअल सत्र समेत आयोजना गरिनेछ।
“कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वभरि नै प्रविधि क्षेत्रमा नयाँ अवसर र चुनौती दुवै ल्याएको छ, र नेपाल यसमा पछाडि पर्नु हुँदैन,” जेनेस सलुशनका प्रमुख प्राविधिक अधिकृत तथा प्रमुख सूचना सुरक्षा अधिकृत निरञ्जन कुँवरले भने । “डिजिटल रूपान्तरण, एआई-चालित सुरक्षा, र उद्योगगत सहकार्यका विषयमा छलफल गर्न उद्योगका नेतृत्वकर्ता तथा विज्ञहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले हामी यो कार्यक्रम आयोजना गर्दैछौं।”
कार्यक्रममा काठमाडौँस्थित प्रमुख बैंकहरु, टेलिकम, र आईटी कम्पनीका प्रमुख प्राविधिक अधिकृत, प्रमुख सूचना सुरक्षा अधिकृत, तथा प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरू सहभागी हुनेछन्।
For more: Genese Solutions GenAI