लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा उच्चस्तरीय नीतिगत संवाद
९ पुष २०८२, काठमाडौं ।
नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन” विषयक उच्चस्तरीय नीतिगत संवाद गरिएको छ ।
काठमाडौंमा बुधबार नीति निर्माता, विकास साझेदार, निजी क्षेत्रका प्रतिनिधि, महिला पर्यटन उद्यमी तथा विज्ञहरूको सहभागितामा नीति संवाद आयोजना गरिएको हो । कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि र महिला उद्यमशीलता प्रवर्द्धनका उपायहरूमाथि छलफल गरिएको छ ।
कार्यक्रम एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आयोजना गरिएको हो ।
उक्त संवादको उद्देश्य महिला नेतृत्वमा सञ्चालित पर्यटन उद्यमलाई सहयोग पुग्ने नीतिगत तथा कार्यक्रमगत प्रतिक्रियाहरू सुदृढ गर्नु रहेको छ । कार्यक्रममा क्रममा नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र- रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण आधार रहँदै आएको र होमस्टे, आवास सेवा, हस्तकला, खाद्य सेवा तथा समुदायमा आधारित पर्यटनजस्ता सूक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाहरूको उल्लेखनीय योगदान रहेको विषयमा छलफल भएको थियो ।
सोही छलफलमा प्राकृतिक विपद्, कोभिड–१९ महामारी, जलवायु जोखिम तथा आर्थिक मन्दीजस्ता बारम्बारका संकटहरूले महिला नेतृत्वमा सञ्चालित पर्यटन उद्यमहरू बढी प्रभावित भएकोले वित्त, बजार, सीप, प्रविधि र संस्थागत सहयोगमा रहेका खाडलहरू उजागर गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धनसम्बन्धी यो कार्यशाला अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरेका छन् । उनले भने, “यस क्षेत्रलाई अगाडि बढाउन विभिन्न एड्भोकेसीका पहलहरू भइरहेका छन् । धेरै प्रक्रिया व्यवस्थित र संस्थागत भएका छन्, तर अझै धेरै काम गर्न बाँकी छ । महिलाको सहभागिता बढाउन हामीले कानुन र नीतिगत सुधार गरेका छौं । नेपालमा केही भएको छैन भन्ने जुन भाष्य बनाइएको छ, त्यसलाई चिर्न आवश्यक छ । नेपालमै आन्तरिक पुँजी परिचालन गरेर काम गर्न सकिन्छ र यहाँ सम्भावनाहरू छन् भन्ने सन्देश हामीले दिन खोजेका छौं । नेपालकै पुँजी प्रयोग गरेर ठूला परियोजनाहरू सञ्चालन गर्न सकिन्छ ।
विशेष गरी कोरोना महामारीपछि पर्यटन क्षेत्र आन्तरिक रूपमा उल्लेखनीय रूपमा बढेको छ ।” कार्यक्रममा बोल्दै एक्याड नेपालकी प्रमुख कार्यकारी अधिकृत दुर्गा थापाले नीति प्रतिबद्धता र व्यवहारिक कार्यान्वयनबीचको दूरी घटाउन संवाद कार्यक्रम महत्वपूर्ण रहेको बताएकी छन् । “पर्यटन क्षेत्रको पुनरुत्थान र रूपान्तरणका केन्द्रमा लैङ्गिक उत्तरदायित्व, दिगोपन र सहनशीलतालाई राख्नु आजको आवश्यकता हो,” उनले भनिन् । उनले उक्त संवाद नेपालका राष्ट्रिय विकास प्राथमिकता तथा दिगो विकास लक्ष्य अन्तर्गत लक्ष्य ५ (लैङ्गिक समानता), लक्ष्य ८ (सम्मानजनक रोजगारी र आर्थिक वृद्धि), लक्ष्य १० (असमानता न्यूनीकरण) र लक्ष्य १२ (उत्तरदायी उपभोग र उत्पादन) सँग समेत मेल खाने स्पष्ट पारिन् ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले पर्यटन पुनरुत्थान र वृद्धिमा लैङ्गिक उत्तरदायित्वलाई मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याए । “विशेषगरी समुदाय तहमा महिला नेतृत्वमा सञ्चालित पर्यटन उद्यमहरू नेपालको पर्यटन प्रणालीका मेरुदण्ड हुन् । तिनको सहनशीलता अभिवृद्धि र प्रभावकारी नीतिगत समर्थन बिना समावेशी, प्रतिस्पर्धी र दिगो पर्यटन सम्भव हुँदैन,” उनले भने । उनले नेपाल पर्यटन बोर्डको समावेशी पर्यटन विकासको दृष्टिकोणसँग यो संवाद पूर्ण रूपमा मेल खाने उल्लेख गर्दै, “महिला उद्यमी सशक्तिकरण बिना दिगो पर्यटन विकास सम्भव छैन। यो संवाद नीतिगत प्रतिबद्धतालाई व्यवहारिक कार्यान्वयनमा रूपान्तरण गर्ने महत्वपूर्ण मञ्च बनेको छ,” सीईओ जोशीले थपे ।
कार्यक्रममा लैङ्गिक उत्तरदायी पर्यटन उद्यमशीलता तथा उद्यम दिगोपन र महिला नेतृत्वमा सञ्चालित पर्यटन उद्यमको सहनशीलता अभिवृद्धि विषयमा केन्द्रित दुई मुख्य सत्रहरू सञ्चालन गरिएका थिए । सहभागीहरूले आर्थिक, जलवायु तथा बजारसम्बन्धी जोखिमहरूसँग जुध्न सक्ने नीतिगत उपाय, असल अभ्यास र उद्यम तहका रणनीतिबारे विचार आदान–प्रदान गरिएका छन् । साथै, “पर्यटनमा महिला उद्यमशीलता: नीतिगत प्रतिबद्धताबाट व्यवहारिक कार्यान्वयनसम्म” र “समावेशी तथा सहनशील पर्यटन वृद्धि: सहकार्य र कार्यान्वयनका प्राथमिकता” शीर्षकका दुई प्यानल छलफलमार्फत सरकारी निकाय, विकास साझेदार र निजी क्षेत्रका लागि प्राथमिक कार्यदिशा पहिचान गरिएको थियो ।
उक्त नीतिगत संवादबाट नीतिसम्बन्धी महत्वपूर्ण सुझावहरू प्राप्त हुनुका साथै सरोकारवालाबीच समन्वय सुदृढ भएको र आगामी दिनमा महिला आर्थिक सशक्तिकरण तथा समावेशी पर्यटन वृद्धिका पहलहरूलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
For More:-Gender Responsive Tourism Policy



