अर्थतन्त्र संकटमा, युवाको असन्तुष्टि बढ्दो: जेनजी आन्दोलनले ८० अर्ब क्षति गरेको खुलासा
७ चैत, काठमाडौँ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर (भोलाटाइल) अवस्थामा पुगेको बताएका छन् ।
नेपाल व्यापार संघको ३३औं वार्षिक साधारण सभा तथा १७औं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले अर्थतन्त्र सिथिल रहेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०८१/८२ मा ४.४ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको भए पनि कोभिड–१९ को नकारात्मक प्रभाव तथा त्यसपछिको कुशल व्यवस्थापनको अभावका कारण स्थिति बिग्रिएको बताए ।
उनले भने, ‘नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर (भोलाटाइल) भएर गएको अवस्था छ । अर्थतन्त्र शिथिल छ । अर्थतन्त्रको आर्थिक वृद्धिदर ८१–८२ मा ४.४ प्रक्षेपण गरिने थियो ।
तर कोभिड १९ को नकारात्मक प्रभाव र त्यसपछिको कुशल व्यवस्थापनको अभावले नै भदौ २३ र २४ गते जेनजी आन्दोलन हुन गयो । आन्दोलनको क्रममा निजी क्षेत्रका औद्योगिक व्यवसायीक प्रतिष्ठानहरुको झण्डै ८० अर्ब जतिको क्षति भयो ।
समग्र व्यवसायी औद्योगिक वातावरणमा नकारात्मक असर पर्न पुग्यो । निजी क्षेत्रको मनोबल अत्यन्त न्यून हुन गयो ।’
उनका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो ।
यसले समग्र व्यवसायिक तथा औद्योगिक वातावरणमा नकारात्मक असर पारेको र निजी क्षेत्रको मनोबल अत्यन्त न्यून भएको उनले बताए ।
अध्यक्ष अग्रवालले अपार प्राकृतिक स्रोतले सम्पन्न देश भए पनि राजनीतिक तथा आर्थिक नीतिगत स्थायित्वको अभावले आर्थिक समृद्धि हासिल गर्न नसकिएको उल्लेख गरे । साथै, युवा जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना गर्न नसकिएको पनि उनले बताए ।
उनले भने, ‘अपार प्राकृतिक स्रोतले भरिएको हाम्रो देशमा राजनीतिक स्थायित्व, अर्थ नीतिको स्थायित्वको अभावले देशको आर्थिक समृद्धि त परै जाओस्, हाम्रो युवा जनशक्तिलाई हामीले रोजगारी सिर्जना गर्न समेत सकिएन ।
उनले दैनिक २५ सयभन्दा बढी युवाहरू रोजगारीको अभावमा विदेशिनुपर्ने बाध्यता रहेको बताए । जुन युवाहरूमा बढ्दो असन्तुष्टिको प्रमुख कारण बनेको र यही असन्तुष्टि जेनजी आन्दोलनको मुख्य कारणसमेत रहेको उनले बताए ।
उनले भने, ‘प्रतिदिन २५ सय भन्दा बढी युवाहरु स्वदेशमा रोजगारीको अभावले विदेशिनुपर्ने बाध्यता नै युवाहरुमा देखिएको असन्तुष्टिको मूल कारण समेत जेनजी आन्दोलन थियो ।
अग्रवालले जेनजी पुस्ताले अघि सारेका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धिका मागहरूलाई महत्वपूर्ण ठहर गर्दै यी विषयहरू देशको विकासका आधारस्तम्भ भएको उल्लेख गरे ।
उनले सुशासनलाई युवाहरूको भविष्यप्रतिको भरोसाको रूपमा व्याख्या गर्दै भ्रष्टाचार उन्मूलन तथा विदेशमा हासिल गरेका अनुभवलाई स्वदेशमै सकारात्मक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
‘जेनजी पुस्ताले अघि सारेका मागहरु सुशासन, भ्रष्टाचार निवारण र रोजगारी सिर्जना, आर्थिक समृद्धिको पहिलो खुड्किलो हुन् । सुशासन युवाहरुको भविष्यप्रतिको भरोसा हो । भ्रष्टाचार उन्मुलन र विदेशमा हासिल गरेको अनुभवलाई यहाँ हामीले सकारात्मक रुपमा प्रयोग गर्न आवश्यक छ,’ उनले भने ।
उनले जेनजी आन्दोलन पछि नेपाल राजनीतिक रूपमा संवेदनशील मोडमा पुगेको बताए । तर हालै सम्पन्न निर्वाचनको परिणामले आशा जगाएको उल्लेख गर्दै आगामी सरकारले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरे ।
उनले भने, ‘जेनजी आन्दोलनपछि नेपालको राजनीतिक संवेदनशील मोडमा पुगिसकेको थियो । तर हालै सम्पन्न निर्वाचनको परिणामले ठूलो आशाको संञ्चार गरेको छ । आगामी सरकारले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति दिन माग गर्दछौं ।’
For more: Gen Z Protests Cost Private Sector


