बालबालिकाको क्यान्सर उपचारमा कान्ति र भक्तपुर अस्पतालको सहकार्य; १४ वर्षमुनिकालाई निःशुल्क सेवा
२ चैत, काठमाडौँ ।
नेपालका दुई प्रमुख सरकारी स्वास्थ्य संस्थाहरू—कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच बालबालिकाको क्यान्सर उपचारलाई थप प्रभावकारी, व्यवस्थित र सुलभ बनाउने उद्देश्यले एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ।
कान्ति अस्पतालका निर्देशक डा. पंकज राय र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेबीच भएको यस सम्झौताले सरकारी स्वास्थ्य प्रणालीभित्रै क्यान्सर पीडित बालबालिकाका लागि एकीकृत उपचार सेवा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
यस सहकार्यअन्तर्गत अब दुवै अस्पतालका विशेषज्ञ चिकित्सकहरूले आपसी समन्वयमा बिरामीको उपचार योजना (Treatment Plan) तयार गर्नेछन् भने एउटा संस्थामा उपलब्ध नभएको प्रविधि वा सेवा अर्कोले उपलब्ध गराउने गरी सेवा आदानप्रदानको ढोका खुलेको छ।
यस सम्झौताको सबैभन्दा बिर्सनै नसकिने पक्ष १४ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा प्रदान गरिनु हो, जसले विपन्न तथा पहुँचविहीन नागरिकका लागि ठूलो राहत पुर्याउने विश्वास गरिएको छ।
विशेष गरी कान्ति बाल अस्पतालमा हाल उपलब्ध नभएका जटिल र अत्याधुनिक सेवाहरू जस्तै रेडिएसन, आइएमआरटी (IMRT), आइएचसी (IHC), फ्लोसाइटोमेट्री र फ्रोजन बायोप्सी वा हाइपेक आवश्यक पर्ने अन्को–सर्जरीहरू अब भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा सहजै उपलब्ध हुनेछन्।
भक्तपुर क्यान्सर अस्पतालले यसअघि नै १४ वर्षमुनिका बालबालिकालाई निःशुल्क सेवा दिँदै आएकोमा अब यो सहकार्यले सेवाको दायरालाई थप फराकिलो बनाएको छ।
उपचार सेवालाई थप सुदृढ बनाउन दुवै अस्पतालले निकट भविष्यमा पेट स्क्यान र बोन म्यारो ट्रान्सप्लान्ट जस्ता उच्च विशिष्टीकृत सुविधाहरू समेत समन्वयमा सञ्चालन गर्ने लक्ष्य राखेका छन्।
स्वास्थ्य बिमा कार्यक्रममार्फत समेत सेवा लिन सकिने यस ऐतिहासिक सहकार्यले नेपालमा बालबालिकाको क्यान्सर उपचारको गुणस्तर र पहुँचमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।
सरकारी अस्पतालहरूबीचको यो समन्वयले दक्ष जनशक्ति उत्पादनका लागि स्वास्थ्यकर्मीहरूलाई विशेष तालिम प्रदान गर्ने र प्रविधि हस्तान्तरण गर्ने कार्यलाई समेत प्राथमिकतामा राखेको छ, जसले समग्र राष्ट्रिय स्वास्थ्य प्रणालीमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।
For More:-Free Pediatric Cancer Treatment



