१५ असार, काठमाडौं।
आगामी साउन १ गते देखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोही अनुरुप काम गर्न निर्देशन दिए ।
नयाँ व्यवस्था अनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोग समक्ष पेस गरेका कागजात साउन १ गतेदेखि अनलाइनबाटै प्रमाणीकरण हुने भएकाले सेवा प्रवाह प्रभावकारी हुनेछ ।
सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आबद्ध गरी नयाँ व्यवस्था लागु गर्न लागेको हो । खाडी मुलुक एवं मलेसिया लगायत नेपाली कामदार माग हुने अन्य देशमा रहेका नेपाली दूतावासले साउन १ गतेदेखि मागपत्र प्रमाणीकरण अनिवार्य रुपमा अनलाइन मार्फत गर्नुपर्ने परराष्ट्रमन्त्री श्रेष्ठको भनाइ छ ।
“सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीति अन्तर्गत यो व्यवस्था लागु गरिएको हो,” उनले भने, “अनिवार्य रूपमा लागु गर्नु अघि नै नयाँ प्रणाली सँग अभ्यस्त हुन आजै देखि परीक्षण थाल्नु उपयुक्त हुन्छ ।”
परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकको खोज तलास, उद्धार, ज्यान गुमाएकाको शव झिकाउने, राहत एवं क्षतिपूर्ति, गुनासो सम्बोधन लगायत अनलाइन सेवालाई सबै नियोगले अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिए ।