सरकारी अस्पतालबाटै वैदेशिक रोजगार स्वास्थ्य परीक्षण: मन्त्रालयले सुरु गर्यो सूचीकरण प्रक्रिया
१७ चैत, काठमाडौँ।
सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालहरूबाट पनि गर्ने व्यवस्था गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारमा जाने श्रमिकले नेपाल सरकारबाट स्वीकृति प्राप्त वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने निर्णय गरेको हो।
यसअघि निजी क्षेत्रका सीमित स्वास्थ्य संस्थाहरूले मात्र यस्तो परीक्षण गर्दै आएकोमा अब सरकारी अस्पतालहरूको संलग्नताले यो सेवा थप भरपर्दो र सुलभ हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।
श्रम तथा रोजगार मन्त्रालयको मापदण्डअनुसार हाल १९४ वटा स्वास्थ्य संस्थाले नवीकरण गरेका छन् । यिनै संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण हुँदै आएको थियो ।



