विशालनगरबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको मतदान: स्थिर नीति र लगानीमैत्री वातावरणका लागि नेतृत्व छान्न आग्रह
२१ फागुन, काठमाडौैं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । मतदान गर्दै उनले मतदानमार्फत सक्षम र दूरदर्शी नेतृत्व चयन भई मुलुकलाई समृद्धितर्फ अघि बढाउने अपेक्षा व्यक्त गरेका छन् ।
अध्यक्ष ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत मताधिकार केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण जिम्मेवारी पनि भएको उल्लेख गरेका छन् । मतदानमार्फत मुलुकले स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सक्रिय सहभागितासहितको नेतृत्व पाओस् भन्ने अपेक्षा आफूले गरेको उनले बताएका छन् ।
ढकालले नेपालको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रबाट हुने उल्लेख गर्दै निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक भएको बताएका छन् । उनले निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै मुलुकले अपेक्षित विकास र समृद्धि हासिल गर्न सक्ने धारणा राखेका छन् ।
निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको महत्वलाई मनन गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउने विश्वास समेत उनले व्यक्त गरेका छन् । साथै ढकालले सबै नागरिकलाई मतदानमा सहभागी भई आफ्नो अमूल्य मतमार्फत देशको साझा भविष्य निर्माणमा योगदान गर्न आग्रह गरेका छन् ।


