१६ भदौ, काठमाडौं।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ।
भेटका क्रममा दुवै पक्षले नेपाल–कतारबीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढिकरण र आपसी सहकार्यका विषयमा छलफल गरेका थिए। महासंघ अध्यक्ष ढकालका अनुसार, यस अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमति पनि भएको छ।
अध्यक्ष ढकालले जेबीसीलाई दुवै देशबीच व्यापार र लगानी प्रवद्र्धनको महत्वपूर्ण संयन्त्र भएको भन्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूची छिट्टै अन्तिम रूप दिनुपर्नेमा जोड दिनुभयो। उहाँले नेपालमा लगानीका प्रशस्त अवसर रहेको भन्दै कतारी लगानीकर्ताहरुलाई जलविद्युत, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानीको लागि आग्रह गर्नुभयो।
साथै, महासंघले अघि बढाइरहेको डिजिटल रूपान्तरणमा कतार चेम्बरसँगको सहकार्य महत्वपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष ढकालले एआई–आधारित व्यवसायिक सुविधा उपकरण, ब्लकचेन–आधारित व्यापार कागजीकरण प्रणाली र व्यवसाय मिलान तथा लगानी प्रवद्र्धनका लागि डिजिटल प्लेटफर्ममा ज्ञान आदानप्रदानको प्रस्ताव पनि राख्नुभयो।
कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) संयन्त्रलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताए। उहाँले नेपालसँग आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढ गर्न आफ्नो तर्फबाट पहल गर्ने र भेटघाट तथा छलफललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष ढकालले कतार चेम्बर र कतारी व्यवसायिक समुदायलाई सन् २०२६ फेब्रुअरीमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन (एनआईईएस) मा सहभागी हुन पनि आमन्त्रण गर्नुभयो। सम्मेलनमा विशेष “कतार केन्द्रित लगानी सत्र” आयोजना गरिने तयारी रहेको जानकारी अध्यक्ष ढकालले दिनुभयो।
भेटका क्रममा नेपाल–कतार साझेदारीलाई नयाँ उचाइमा पु¥याउन, नेपाली कृषि उत्पादन जस्तै चिया, कफी, अलैंची, जडीबुटी र प्रशोधित खाद्यवस्तु कतारको बजारमा पहुँच बढाउने सम्भावना समेत छलफल भएको थियो। अध्यक्ष ढकालले यी उत्पादनहरूको प्रमाणिकरण, मानकीकरण र संयुक्त ब्रान्डिङ्गमा सहकार्य गर्न प्रस्ताव गर्नुभयो।
भेटमा कतार चेम्बरका उच्च पदाधिकारी र व्यापारीहरू पनि सहभागी थिए।
For more: FNCCI President Meet Qatar Chamber Chairman