१७ भदौ, काठमाडौं।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ।
भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका महत्वपूर्ण विषयमा छलफल भएको थियो। अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै, नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताए।
उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरशिप फ्रेमवर्क नेपालमा विकासको आवश्यकतासँग मेल खाने गरी तयार भएको र फ्रेमवर्कअनुसार आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग सहकार्य गर्न चाहेको उल्लेख गरे।
अर्थमन्त्रीले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा छलफलमा रहेको जानकारी दिँदै, विधेयक पारित भएपछि निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने परियोजनामा लगानी गर्ने बताए। उनले विधेयकको लक्ष्य अनुसार अघि बढ्न विश्व बैंकबाट सहयोगको अपेक्षा राखे।
विश्व बैंकका उपाध्यक्ष जुटले नेपालको उच्च आर्थिक वृद्धिदर सुनिश्चित गर्न विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले लुम्बिनी र काठमाडौं उपत्यकामा शहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि परियोजनामा सहकार्यको योजना रहेको बताए। साथै, निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नु पर्ने आवश्यकतालाई पनि जोड दिए।
उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकमा सुधार हुनु सकारात्मक रहेको भन्दै, लगानी वृद्धि गर्न अझ प्रयास गर्नुपर्ने बताए। वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानून बनेसँगै पूर्वाधार क्षेत्रमा नयाँ लगानी क्षेत्र पहिचान गर्न सकिने र निजी क्षेत्रको लगानी आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित रहनुपर्ने सुझावसमेत दिए।
For More:-Finance Minister World Bank Meeting