अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट, नेपाललाई हुने सम्भावित सहयोगबारे छलफल
६ असोज, काठमाडौं।
आज अर्थ मन्त्रालय, सिंहदरबारमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम Mr. Dean R. Thompson बीच शिष्टाचार भेट सम्पन्न भएको छ।
उक्त अवसरमा अर्थमन्त्री खनाल र अमेरिकी राजदूतले नेपालको हालको परिवर्तित अवस्था, वर्तमान सरकारका प्राथमिक कार्यहरु, र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा विस्तृत छलफल गरेका छन्।
अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेज मार्फत निजी क्षेत्रको मनोबल उकास्ने प्रयासमा केन्द्रित रहेको जानकारी दिनुभयो। अमेरिकी राजदूतले हालैको घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै, यस परिस्थितिमा अमेरिकी सरकार नेपालका साथमा रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी, अमेरिकी राजदूतले MCC को सहयोगमा संचालित MCA नेपाल मार्फत कार्यान्वयन भइरहेका परियोजनाहरु समयमै सम्पन्न गर्न सरकारको थप प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो। अर्थमन्त्री खनालले परियोजनाहरुको सफल कार्यान्वयनका लागि आवश्यक कार्यमा ढिलाइ नहुने विश्वास दिलाउनुभयो।
उक्त अवसरमा अर्थमन्त्री खनालले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारको निरन्तर सहयोगको उच्च सराहना गर्दै, भविष्यमा पनि यस प्रकारको सहयोग निरन्तर रहिरहने अपेक्षा व्यक्त गर्नुभयो।
वैठकमा अर्थ सचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी र अमेरिकी राजदूतावासका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।
For More:-Finance Minister Khanal US Nepal Support