चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन
आगामी चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले देशभरका सबै सुरक्षा युनिटमार्फत विशेष चाडपर्व सुरक्षा योजना लागू गरिएको र करिब ५० हजार सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए।
उनका अनुसार भयरहित वातावरणमा चाडपर्व मनाउन सकियोस् भन्ने उद्देश्यले शान्ति–सुरक्षा कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय गर्दै विशेष निगरानी बढाइएको छ। “सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक तयारी पूरा गरिएको छ,” प्रवक्ता घिमिरेले बताए।
आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने छ भने सादा पोसाकमा समेत प्रहरी परिचालन हुनेछन्। काठमाडौँ उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइने र परिस्थितिअनुसार थप जनशक्ति परिचालन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
चाडपर्वमा सवारीसाधनको आवागमन सहज बनाउन विशेष ध्यान दिइने भएको छ। साथै, भेला वा जमघटमा मदिरा सेवनपछि हुने होहल्ला, झगडा, चोरी–तस्करी जस्ता आपराधिक गतिविधि नियन्त्रणमा राख्न निगरानी बढाइएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, कालोबजारी, तोकिएभन्दा बढी भाडा असुल्ने गतिविधि लगायतका विषयमा पनि प्रहरीको विशेष चासो रहने जनाएको छ।
For More:-Festive Season Security Deployment