संघीय सांसदद्वारा चित्लाङस्थित मदन भण्डारी विश्वविद्यालयको स्थलगत अवलोकन

Federal Parliament Member Visit
Share It On:

१८ जेठ, काठमाडौं ।

संघीय संसद प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले जेठ १६ र १७ गते चित्लाङ, मकवानपुरस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (#MBUST) को दुईदिने स्थलगत अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

माननीय अम्मर बहादुर थापाको नेतृत्वमा गएको संसदीय टोलीले विश्वविद्यालयको शैक्षिक र अनुसन्धान गतिविधिहरूको नजिकबाट अवलोकन गरेका थिए।

समितिका सभापति माननीय अम्मर बहादुर थापासहित माननीय सदस्यहरू देवेन्द्र पौडेल, छविलाल बिश्वकर्मा, महेन्द्र कुमार राय, राम प्रकाश चौधरी, सरिता भुषाल, तथा ज्ञानु बस्नेत सुबेदीले भ्रमणमा सहभागिता जनाएका थिए।।

अवलोकन तथा अन्तरक्रिया

Federal Parliament MBUST

भ्रमणका क्रममा माननीय सदस्यहरूले विश्वविद्यालयका विभिन्न अत्याधुनिक अनुसन्धान प्रयोगशालाहरू, जसमा डिजिटल प्रविधि, च्याउ खेती, प्लान्ट प्याथोलोजी, जैविक तथा प्राकृतिक स्रोतसाधन, तथा दिगो तथा लचिलो पूर्वाधार सम्बन्धी प्रयोगशालाहरू समावेश थिए, को अवलोकन गरे।

विश्वविद्यालयका संयोजकहरू डा. भुषण श्रेष्ठ, डा. सबिना श्रेष्ठ, डा. अनुपमा श्रेष्ठ, डा. सर्बेश दास डंगोल, डा. किशोर तिम्लसिना तथा डा. राजिब सुब्बाले आ-आफ्नो विभाग अन्तर्गत भइरहेका अनुसन्धान गतिविधिबारे विस्तृत जानकारी दिए।

नेतृत्वको प्रस्तुति र विद्यार्थी शोध

विश्वविद्यालयका उपाध्यक्ष पद्म सुन्दर जोशीले स्वागत मन्तव्य राख्नुहुँदै निर्देशक डा. किर्ति कुसुम जोशीले शैक्षिक कार्यक्रमबारे जानकारी दिनुभएको थियो। कार्यक्रममा डिजिटल प्रविधि, अर्ग्यानिक कृषि, वनजन्य जैविक सामग्रीहरू, दिगो तथा लचिलो पूर्वाधार विषयमा अध्ययनरत विद्यावारिधि तथा स्नातकोत्तर तहका विद्यार्थीहरूले आ-आफ्नो शोधसम्बन्धी प्रस्तुति दिए।

रणनीतिक दृष्टिकोण र नीतिगत सिफारिस

विश्वविद्यालयका अध्यक्ष राजेन्द्र ध्वज जोशीले “मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई विश्वस्तरीय बनाउन आवश्यक नीतिगत सहयोग” शीर्षकमा प्रस्तुतीकरण दिनुहुँदै विश्वविद्यालयलाई विश्वस्तरमा पुर्याउन राजनीतिक क्षेत्र लगायत समाजका विभिन्न तह र तप्काबाट आवश्यक सहयोगको जानकारी दिए।

जोशीले यस हिमवत खण्डमा कुनै कालखण्डमा ठूला-ठूला विश्वविद्यालय रहेको स्मरण गराउँदै ज्ञान नै समृद्धिको आधार भएकाले अनुसन्धान नै राष्ट्रलाई विकास गर्ने आधार रहेको बताए।

अध्यक्ष जोशीले निम्न नीतिगत सुधारका लागि सुझावहरू प्रस्तुत गरे:

अनुसन्धान अनुदानको अवधि ४-५ वर्ष हुनुपर्ने।

१० वर्षभित्र अनुसन्धानका लागि कुल ग्राहस्थ उत्पादनको ०.४ प्रतिशत खर्च विनियोजन गर्नुपर्ने।

कुल ग्राहस्थ उत्पादनको थप ०.४ प्रतिशत उच्च शिक्षाका लागि विनियोजन गर्नुपर्ने।

स्नातकोत्तर र विद्यावारिधि स्तरका विद्यार्थीहरूलाई अनुसन्धानमा वित्तीय सहयोगमा प्राथमिकता दिनुपर्ने।

उहाँले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले हाल आफ्ना विद्यार्थीहरूलाई मासिक रु. ३० हजारसम्म वृत्ति प्रदान गरिरहेको र यसले विद्यार्थीहरूलाई आफ्नो अनुसन्धानमा दत्तचित्त रहन मद्दत गरेको जानकारी दिए। साथै, यो सार्वजनिक संस्थाले चन्दादाताहरूको सहयोगमा हालसम्म रु. १ करोड ५० लाखभन्दा बढी रकम प्रदान गरिसकेको पनि उल्लेख गरे।

अध्यक्ष जोशीले वार्षिक कारोबार रु. १५ करोडभन्दा बढी गर्ने संस्थाले आर्जन गरेको नाफाको कम्तीमा १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व (CSR) का लागि छुट्याउने व्यवस्था कानुनमै गर्नुपर्ने सुझाव दिए।

यसैगरी, योगमाया विश्वविद्यालयलाई व्यवस्था गरिए जस्तै मदन भण्डारी विश्वविद्यालयलाई पनि विदेशी व्यक्तिले चन्दा दिँदा कर नलाग्ने व्यवस्था उपयुक्त हुने बताए। उहाँले नेपालको हाल प्रचलित व्यवस्था र मूल्यमान्यताभित्र रही विश्वस्तरीय विश्वविद्यालय सम्भव नभएकाले यथास्थितिमा परिवर्तन हुनुपर्नेमा जोड दिए।

माननीय सदस्यहरूको टिप्पणी

कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय देवेन्द्र पौडेलले विश्वविद्यालयको स्थापनाको क्रममा उठेका विभिन्न टीकाटिप्पणीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” भन्ने भनाइसँग तुलना गर्दै छोटो समयमा विश्वविद्यालयले गरेको पूर्वाधार विकास र अनुसन्धान प्रगतिमा सन्तुष्टि व्यक्त गर्नुभयो।

माननीय पौडेलले आगामी दिनमा मदन भण्डारी विश्वविद्यालयले नेपाल सरकारको अनुसन्धान नीति निर्माणमा सहयोग गर्ने अपेक्षा गर्दै अनुसन्धानमार्फत ज्ञानलाई उत्पादनसँग जोडी नेपालका विभिन्न क्षेत्रमा योगदान गर्ने विद्यार्थी उत्पादन गर्न जोड दिए।

उहाँले चित्लाङजस्तो रमणीय स्थानमा रहेको विश्वविद्यालयमा नेपालका मात्र नभई छिमेकी तथा अन्य राष्ट्रका विद्यार्थीहरू समेत आउने वातावरण बनोस् भनी शुभकामना दिए।

प्रतिनिधिमण्डलका सदस्य माननीय छविलाल विश्वकर्माले मदन भण्डारी विश्वविद्यालय परिवारको प्रतिबद्धताको प्रशंसा गर्दै अनुसन्धानमा संलग्न अनुसन्धानकर्मीहरूलाई नेपाल सरकारले उत्प्रेरणा दिनुपर्ने धारणा राखे।

उहाँले नेपालमा पनि कुनै अनुष्ठान गर्ने अठोटलाई एउटा मिसनका रूपमा लिएर अगाडि बढेमा उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने देखेर प्रतिनिधिमण्डललाई प्रेरणा प्राप्त भएको जानकारी दिए।

यसैबीच, प्राध्यापकहरूले मदन भण्डारी विश्वविद्यालय आउने चित्लाङ सडक “गणेश मान सिंह राजमार्ग” को दुरावस्थाबारे अवगत गराउँदै माननीयहरूलाई सम्बन्धित निकायको ध्यानाकर्षण गराई उक्त सडक समयमै सुरक्षित यात्राका लागि उपयुक्त हुने व्यवस्था गर्न अनुरोध गरे।

कार्यक्रमको समापन गर्दै संघीय संसद प्रतिनिधि सभाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति माननीय अम्मर बहादुर थापाले विश्वविद्यालयले गरेको कामको प्रशंसा गरे।

उहाँले विश्वविद्यालयलाई कृषिको उत्पादनमा आधुनिकीकरण कसरी गर्न सकिन्छ र त्यसको प्रत्यक्ष प्रभाव नागरिकसम्म पुर्याउन सक्नुपर्छ भन्ने कुरामा लाग्न अनुरोध गर्नुभयो। मदन भण्डारी विश्वविद्यालयले अख्तियार गरेको नीति तथा कार्यक्रमहरू अरू विश्वविद्यालयका लागि पनि अनुकरणीय हुनेमा विश्वास व्यक्त गरे।

उहाँले अबका दिनमा विद्यार्थीहरू खाडी मुलुक जाने होइन, आफ्नो ज्ञानको सदुपयोग गर्दै आफ्नो अनुसन्धानको परिणाम नागरिक स्तरसम्म लाने प्रयत्न गर्नुपर्ने सुझाव समेत दिए।

For more: Federal Parliament Members’ Visit


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *