१५ जेठ, काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा काठमाडौंमा साझा यातायातका लागि थप १०० विद्युतीय बसहरू उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, यात्रुको चाप र वातावरण संरक्षणलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको जानकारी दिएका छन्।
यस योजनाअन्तर्गत, सरकारको लगानीमा सञ्चालित साझा यातायातलाई थप पर्यावरणमैत्री र व्यवस्थित बनाउने उद्देश्यले १०० विद्युतीय बस खरिद गरिनेछ।
अर्थमन्त्री पौडेलले भने, “विद्युतीय सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं उपत्यका र अन्य प्रमुख सहरी क्षेत्रमा सस्तो, सुरक्षित र प्रदूषणरहित यातायात सेवा प्रवाह गर्ने लक्ष्य राखिएको छ।”
सरकारको यो पहलले काठमाडौंको वातावारण सुधारमा ठूलो भूमिका खेल्ने र सार्वजनिक यातायातलाई नयाँ आयाम दिने विश्वास गरिएको छ।