नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा निर्वाचित
१५ पुस २०८२, काठमाडौं ।
नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुन्जाङ शेर्पा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणना अनुसार डा. शेर्पाले ५,२३४ मत प्राप्त गर्दै उपाध्यक्षमा विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी डा. गुरुशरण शाहले ४,३५० मत ल्याएका छन् भने अर्का उम्मेदवार डा. अजय सिंह थापाले १,८४४ मत प्राप्त गरेका छन्।
वीर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. शेर्पा यसअघि नेपाल मेडिकल काउन्सिलको सदस्यका रूपमा पनि काम गरिसकेका छन्।
यस्तै, काउन्सिलका सदस्य पदमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. योविन कुमार यादव, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा. रविन बस्नेत र डा. नीना राई निर्वाचित भएका छन्। मतपरिणामअनुसार सबैभन्दा बढी मत डा. छविलाल पन्थीले ४,८५७ मतसहित प्राप्त गरेका छन्।
निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११,९२२ मत खसेको थियो। तीमध्ये उपत्यकामा ५,०७६ मत र उपत्यका बाहिर ६,८४६ मत खसेको निर्वाचन समितिले जनाएको छ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर ४ र ५ पुस तथा काठमाडौं उपत्यकामा ११ र १२ पुसमा मतदान सम्पन्न भएको थियो। निर्वाचित उपाध्यक्ष र सदस्यहरूको कार्यकाल चार वर्षको रहने व्यवस्था छ।
For More:-dr kunjang sherpa elected



