८ साउन काठमाडौं ।
“बैजनाथ गाउँपालिकाले किसानलाई ७० प्रतिशत अनुदानमा ११ वटा ई-लोडिङ अटोरिक्सा प्रदान गरेको छ। पालिका प्रमुख प्रकाशबहादुर शाहीले किसानलाई चाबी हस्तान्तरण गर्दै स्थानीय कृषिलाई प्रोत्साहन दिने योजना जानकारी गराए।”
बैजनाथ गाउँपालिकाले किसानका लागि लाभदायी काम गरेको छ ।
गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटमार्फत ११ वटा समुह तथा फर्मलाई ई-लोडिङ अटोरिक्सा प्रदान गरेको हो ।
किसानसँग पालिका प्रमुख कार्यक्रमको ७० प्रतिशत अनुदानमा सूचिकृत समुह तथा फर्ममा आवद्ध रहेका ति किसानलाई उक्त अटोरिक्सा प्रदान गरिएको हो ।
Distribution of subsidized e-loading autorickshaws
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले उक्त अटोरिक्साको चाबी सम्बन्धित किसानलाई हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले बैजनाथको कृषिलाई माथी उठाउन स्थानीय सरकारले विशेष रुपमा जोड दिदै आएको बताए ।
गाउँपालिकाले हरेक वर्ष किसानसँग पालिका प्रमुख कार्यक्रममा ठुलो परिमाणमा बजेट विनियोजन गर्दै आएको उनले जानकारी दिए ।
आफ्नो पाँच वर्षे कार्यकालभरी किसानसँग पालिका प्रमुख कार्यक्रम निरन्तर रुपले सञ्चालन हुने अध्यक्ष शाहीले बताए ।
हस्तान्तरण गरिएका अटोरिक्साबाट किसानले आफ्ना कृषि उत्पादनलाई अब सहज रुपमा ढुवानी गर्न सक्नेछन् । अटोरिक्सा प्रदान गर्नका लागि गाउँपालिकाले किसानलाई विभिन्न प्रक्रिया अनुसार सूचिकृत गरेको थियो ।
सोही अनुसार गाउँपालिका कार्यालय रामपुरमा आइतबार एक कार्यक्रमका बीच अटोरिक्सा हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले जानकारी दिए ।
सो क्रममा गाउँपालिकाका कार्यपालिका सदस्य रुपा थापा, लेखा अधिकृत पूर्णप्रसाद जैसी, कृषि शाखा प्रमुख विश्वकर्मा, विभिन्न समुह तथा फर्मका किसान लगायतको उपस्थिती रहेको थियो ।