१ भदौ, काठमाडौं ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक अत्याधुनिक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरिएको छ ।
आइतबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त मेसिनसहित सेवाग्राहीलाई थप सुविधा दिने उद्देश्यले स्थापना गरिएका दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’ को उद्घाटन गरेका हुन् ।
मन्त्री पौडेलले कार्यकाल सम्हाल्ने क्रममा सार्वजनिक गरेका प्राथमिकता र कार्ययोजना अनुसार सरकारी स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताए । उनले सरकार जनतासँग गरेका वाचा पूरा गर्न कटिबद्ध रहेको उल्लेख गर्दै जटिल रोगको परीक्षणका लागि विदेशमा नमुना पठाउने बाध्यता हटाउने तथा खर्च कम गर्ने लक्ष्य राखिएको बताए ।
के हो डिजिटल पीसीआर?
प्रयोगशालामा जडान गरिएको डिजिटल पीसीआर मेसिन हाल प्रयोगमा रहेको सामान्य पीसीआरभन्दा धेरै परिष्कृत र संवेदनशील मानिन्छ । यसले नमुनामा रहेका अति न्यून मात्रामा रहेको डीएनए समेत सटीक रूपमा पहिचान गर्न सक्ने भएकाले रोग निदान थप विश्वसनीय र प्रभावकारी हुने निर्देशक डा. रञ्जन राज भट्टले जानकारी दिए ।
उनका अनुसार यस प्रविधिले क्यान्सर उपचारमा प्रयोग हुने ईजिएफआर (EGFR), बीसीआर-एबीएल (BCR-ABL), बीआरएएफ (BRAF) जस्ता म्युटेसन परीक्षण र रगतमा रहेका ट्युमरको डीएनए परीक्षण (Circulating Tumor DNA) अब नेपालमै सस्तो र सहज रूपमा गर्न सम्भव हुनेछ ।
सेवाग्राहीलाई थप सुविधा
नवजडित ‘रिपोर्ट भेन्डिङ मेसिन’ मार्फत सेवाग्राहीले युनिक कोड प्रयोग गरी आफैंले रिपोर्ट प्रिन्ट गर्न सक्ने सुविधा पाउनेछन् । यसले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्ने र सेवाग्राहीलाई ठूलो राहत मिल्ने प्रयोगशालाले जनाएको छ ।
मन्त्रालयले यस प्रविधि विस्तारले नेपालको रोग निदान क्षमतालाई नयाँ स्तरमा पुर्याउने र आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने विश्वास व्यक्त गरेको छ ।
For More:-Digital PCR Machine in Nepal