डिजिटल पूर्वाधार सुदृढ गर्न एआई सेन्टर र सूचना प्रविधि पार्क निर्माण
१५ जेठ, काठमाडौं ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षका लागि डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तयार गरिने जानकारी दिएका छन्। डिजिटल पूर्वाधार सुदृढ गर्न सरकारका तर्फबाट विभिन्न योजनाहरू सार्वजनिक गरिएको छ।
उनका अनुसार, डाटा सेन्टर र सूचना प्रविधि पार्क निर्माण गरिनेछ। डाटा सेन्टर स्थापना गर्न चाहने कम्पनीहरूलाई सरकारले जग्गा र विद्युत उपलब्ध गराउने छ। काठमाडौंमा सूचना प्रविधि पार्क निर्माणको योजना रहेको छ भने एकीकृत डाटा केन्द्रको स्तरवृद्धि पनि गरिनेछ।
सरकारले ७४ करोड रुपैयाँको बजेट विनियोजन गर्दै डिजिटल सिस्टमको विकासमा जोड दिएको छ। साथै, नेपालमा पहिलोपटक एआई (Artificial Intelligence) सेन्टर स्थापना गरिने घोषणा गरिएको छ।
क्लाउड प्रविधिको प्रयोगमार्फत तथ्यांकको सुरक्षा सुनिश्चित गरिने अर्थमन्त्री पौडेलले बताए।
उनका अनुसार, यी योजनाहरूले नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ, सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।
साथै, सरकारले नवीनतम प्रविधिको खोज र अनुसन्धानलाई प्राथमिकता दिने योजना समेत अघि सारेको छ।